काठमाडौँ- द ब्रिटिस कलेज, काठमाडौँले हालै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत फैलिएको भ्रामक सूचना र आरोपप्रति आधिकारिक स्पष्टीकरण जारी गरेको छ।
कलेजले आफू नेपालमा कानुनी रूपमा दर्ता भई सञ्चालनमा रहेको उच्च शिक्षा संस्था भएको र बेलायतका अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कलेजले नेपालका सम्बन्धित नियामक निकायका मापदण्ड पूर्ण रूपमा पालना गर्दै आएको दाबी गरेको छ।
विज्ञप्तिमा कलेजमा सञ्चालन हुने फाउन्डेसन कार्यक्रम विद्यार्थीलाई उच्च तहको अध्ययनका लागि आवश्यक शैक्षिक आधार तयार गर्न लक्षित रहेको उल्लेख छ। अध्ययन प्रगति मार्ग (progression pathways) तथा शैक्षिक सर्तहरू विद्यार्थीलाई भर्नाकै क्रममा स्पष्ट रूपमा जानकारी गराइने कलेजको भनाइ छ।
दुबईस्थित ‘उलव्हिच इन्स्टिच्युट’ सँगको सहकार्यका सन्दर्भमा कलेजले उक्त संस्था संयुक्त अरब इमिरेट्सको कानुनअनुसार स्वीकृत र छुट्टै संस्था भएको स्पष्ट पारेको छ। इन्टर्नसिपका विषयमा भने कलेजले इन्टर्नसिप ग्यारेन्टी नहुने र यसको नतिजा विद्यार्थीको तयारी, कार्यसम्पादन तथा बजार अवस्थामाथि निर्भर रहने जनाएको छ।
कलेजका अनुसार केही नेपाली विद्यार्थी व्यक्तिगत कारणले नेपाल फर्किएपछि उत्पन्न विषयहरू शैक्षिक तथा प्रशासनिक प्रक्रियामार्फत समाधान गरिसकिएको छ। तर, त्यसपछि गरिएका अनुमति बिना कलेज परिसरमा प्रवेश, अनधिकृत भिडियो खिचाइ तथा कर्मचारीमाथि दुर्व्यवहारजस्ता गतिविधिले शैक्षिक वातावरणमा असर पारेको जनाएको छ।
युएईमा अध्ययनरत विद्यार्थीमाथि शोषण तथा शारीरिक दुर्व्यवहारसम्बन्धी आरोपहरूलाई कलेजले पूर्ण रूपमा अस्वीकार गर्दै ती आरोपहरू निराधार र अप्रमाणित भएको जनाएको छ। यस्ता विषयहरू यसअघि औपचारिक वा कानुनी निकायमार्फत उठाइएको नपाइएको पनि कलेजको दाबी छ।
यसैबिच, गत मङ्गलबार (२३ डिसेम्बर) कलेजसँग कुनै सम्बन्ध नरहेका केही व्यक्तिहरू जबरजस्ती कलेज परिसरमा प्रवेश गरी अव्यवस्था र डर त्रास सिर्जना गरेको उल्लेख गर्दै उक्त घटनापछि नेपाल प्रहरीले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएको कलेजले जनाएको छ।
कलेजका अनुसार यी सबै विषयहरू सम्बन्धित कानुनी, साइबर तथा नियामक निकायसमक्ष औपचारिक रूपमा पेस गरिएको छ र दुवै संस्था कानुनी प्रक्रियामा पूर्ण रूपमा सहकार्य गरिरहेका छन्। कलेजले सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप नगर्ने र औपचारिक माध्यमबाहेक अन्यत्र प्रतिक्रिया नदिने स्पष्ट पारेको छ।
द ब्रिटिस कलेजले शैक्षिक गुणस्तर, विद्यार्थीको कल्याण र जिम्मेवार संस्थागत आचरणप्रति प्रतिबद्धता दोहोर्याउँदै शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। साथै, नेपाल प्रहरीले सुरक्षा सुनिश्चित गर्न निरन्तर सहयोग गर्ने आश्वासन दिएको र कलेजले आन्तरिक सुरक्षा व्यवस्था थप सुदृढ बनाएको पनि स्पष्ट गरिएको छ।
कलेजले सबै सरोकारवालालाई गलत सूचना र अफवाहको पछि नलाग्न आग्रह गर्दै आवश्यक जानकारीका लागि प्रत्यक्ष रूपमा सम्पर्क गर्न अनुरोध गरेको छ।



