Matra Education आइतबार, साउन १० २०८३

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह पुस १० गते हुने

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह पुस १० गते हुने

  • मात्र एजुकेशन
  • शनिबार, पौस ५ २०८२


फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आगामी पुस १० गते हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो ।

त्रिविका अनुसार यो पटक दीक्षित हुन योग्य विद्यार्थीको संख्या ८९ हजार १९९ छ । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् । साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् ।

आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरेर करिब ४२ हजार जनाको दीक्षान्त समारोहमा उपस्थिति रहने अनुमान गरिएको रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालले जानकारी दिए । दीक्षान्त समारोह कीर्तिपुरस्थित त्रिविकै क्रिकेट रंगशालामा गर्ने तयारी गरिएको छ। रजिस्ट्रार प्राडा रिजालका अनुसार त्रिभुवन विश्वविध्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आयोजना गर्न लागेको दीक्षान्तमा अनुमानित संख्यामा उपस्थिति भए यो त्रिविको इतिहासमै ठूलो समारोह हुनेछ । दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको रिजाले बताए ।

कार्यक्रममा ५२ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।

दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता सहभागी हुने

दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।

समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । यस्तै कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालको विशेष आतिथ्यता रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड