काठमाडौँ– सरस्वतीनगर, चाबहिलस्थित रिलायन्स कलेजले स्नातक तह उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ गरेको छ । बुधवार चाबहिलको स्मार्ट प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजमा अध्ययन गरी बिबिए, बिसिए र बिएसडब्ल्यु र उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बिदाइ गरिएको हो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सानिमा बैंकका पूर्व सिइओ एवम् नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष भुवन दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, विशेष अतिथिका रूपमा पठाओका सिइओ असिममान सिंह बस्नेत उपस्थित थिए।
औपचारिक र अनौपचारिक गरी दुई सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा विद्यार्थीलाई उत्प्रेरित गर्ने, सम्मान गर्ने र विभिन्न मन्तव्यहरू मार्फत मार्गनिर्देशन गर्ने कार्य गरिएको थियो भने दोस्रो सत्रमा विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू देखाइएको थियो। पहिलो सत्रमा अध्यापनरत पिएचडी होल्डर प्राध्यापकहरू सम्मानित समेत भएका थिए।
उत्कृष्ट प्रस्तुतीकरण सहित आफ्नो भनाई राखेका कार्यक्रमका प्रमुख अतिथि दाहालले सहभागी विद्यार्थीहरूलाई उत्प्रेरित गरे। विकसित देशहरू सँग नेपालको तुलना र नेपालकै सफल असफल संस्थाहरूको तुलना गरेका उनले तिनीहरू बिचको भिन्नता प्रस्तुत गरे। राम्रो व्यवस्थापन नभएकै कारण कतिपय सरकारी संस्थान आज बन्द हुन पुगेको दृष्टान्त दिँदै उनले व्यवस्थापन पढेकाहरूको माग त्यसकारण पनि रहेको बताए। शिक्षक भएर मासिक ६०० रुपैयाँ तलबमा करियर सुरु गरेको स्मरण गर्दै सिइओका रूपमा सेवानिवृत्त हुँदा मासिक १० लाख तलब लिएको उनले सुनाए।
निरन्तर इमानदार प्रयास गरे सबै जना त्यसरी नै सफल हुने भन्दै उनले सबै विद्यार्थीको उज्ज्वल भविष्य को कामना गरे।
कार्यक्रमका सभापति थापाले रिलायन्स एजुकेसन नेटवर्कको इतिहास र हालको अवस्था बारे संक्षिप्त चर्चा गर्दै १५००० भन्दा बढी कलेज बाट दीक्षित भइसकेको बताए। समाजका विभिन्न क्षेत्रको नेतृत्व गर्न सक्ने हजारौँ जनशक्ति रिलायन्सले उत्पादन गरिसकेको उल्लेख गर्दै आज हरेक कर्पोरेट हाउसमा रिलायन्सका विद्यार्थी भेटिने गरेको उनले सुनाए। थापाले पछिल्लो समय विदेश जाने क्रम फेसन बनिरहेको भन्दै नेपालमै राम्रो अवसर भएकाले त्यस बारे विचार गर्न विद्यार्थीलाई सुझाए। छात्रवृत्ति पाएमा मात्रै विदेश पढ्न जाने र त्यहाँको सिप सिकेर नेपाल फर्कनुपर्नेमा उनको जोड थियो। थापाले रिलायन्समै स्नातकोत्तर पढ्ने सुविधा रहेको भन्दै आफ्नै कलेज भर्ना हुन पनि विद्यार्थीलाई अपिल गरे।
रिलायन्सले स्नातक तहमा बिबिए, बिए, बिसिए, सिएसआइटी, बिबिएका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर तहमा एमबिए र एमबिएस अध्यापन गराउँदै आएको छ ।