काठमाडौँ- काठमाडौँ महानगरपालिका शिक्षा विभागले विद्यालयहरूले छात्रको कपाल जथाभाबी मुन्डन गर्ने गरेको गुनासो आएको भन्दै त्यसो नगर्न सूचित गरेको छ। बुधवार एक सूचना जारी गर्दै विभागले यस्तो कार्यले छात्रलाई मनोवैज्ञानिक असर पर्ने जनाएको हो।
विभागले कानुनी व्यवस्था सम्झाउँदै सूचनामा भनेको छ, “शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन अनुरोध छ ।”
निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले यो सूचना जारी गरेका हुन्।
