Matra Education आइतबार, साउन १० २०८३

‘अपेन किड्स स्पार्कल डे’ को पाँचौ सिजन भव्य रुपमा सम्पन्न

‘अपेन किड्स स्पार्कल डे’ को पाँचौ सिजन भव्य रुपमा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर २१ २०८२


अपेन किड्स स्पार्कल डे भव्य रुपमा सम्पन्न
काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा नगर कमिटीले आयोजना गरेको ‘अपेन किड्स स्पार्कल डे- २०८२’ सम्पन्न भएको छ। शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य औपचारिक समारोहमा आफ्ना बालबालिकाहरूको सुन्दर प्रस्तुति देखाउँदै अपेन टोखाले कार्यक्रम सम्पन्न गरेको हो। अपेन टोखाले २०७५ सालमा आयोजना गरेको पहिलो ‘अपेन किड्स स्पार्कल डे’ को निरन्तरता स्वरूप सिजन ५ आयोजना गरिएको थियो। मन्टेश्वरी तथा प्रि स्कुल पढ्ने साना बालबालिकाहरूको प्रस्तुति रहेको कार्यक्रम भए पनि प्रस्तुतिहरू कुनै व्यवसायिक कलाकारको जस्तो देखिन्थ्यो।

प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि आयोजित कार्यक्रम अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीको सभापतित्व तथा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा अपेनका केन्द्रीय अध्यक्ष बद्रि दाहाल, केन्द्रीय महासचिव कृष्ण कुमार बोहरा सहित अपेनका केन्द्रीय सदस्यहरू, विभिन्न स्थानीय कमिटीका अध्यक्ष तथा पदाधिकारीहरू अतिथिका रूपमा उपस्थित भएका थिए। त्यस्तै कार्यक्रममा अपेन टोखाका सदस्य तथा पदाधिकारीहरू, सदस्य विद्यालयहरूका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमकी सभापति तथा अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीले बालबालिकाहरू भित्र सुषुप्त रूपमा रहेको क्षमता विकास गरी उनीहरूको आत्मविश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। त्यस्तै टोखा नगरपालिका भित्र सञ्चालित प्रि स्कुलहरू बिच एकता र सहकार्यको भावना वृद्धि गराउनु पनि कार्यक्रमको उद्देश्य भएको उनको भनाई थियो। कार्यक्रम आयोजनाका लागि प्रायोजन गर्ने संस्थाहरू र शोभा बढाउन उपस्थित हुने अतिथिहरू प्रति पनि उनले कृतज्ञता व्यक्त गरिन्। आगामी दिनमा पनि यस किसिमको कार्यक्रमहरू निरन्तर जारी राख्ने प्रतिबद्धता उनको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले अपेनले देशैभर नेटवर्क विस्तार गरिरहँदा यो खालका कार्यक्रम पनि बालबालिकाको क्षमता विकासका लागि गर्दै आएको बताए। अहिले अपेन आबद्ध संस्थाहरूले हरेक हप्ता जसो यस किसिमका कार्यक्रम गर्दै आएको उनले जानकारी दिए। बालबालिकाको हितका लागि सबै सँग साझेदारी गर्न संस्था तयार रहेको उनको भनाइ थियो । सीप संस्कार र प्रविधि सहितको शिक्षा दिने अभियानमा अपेन रहेको भन्दै उनले बालबालिकाहरूको चौतर्फी विकासका लागि नेपाल सरकार, स्थानीय सरकार र नगरपालिकाहरुले पनि आफूहरू सँग सहकार्य गर्नुपर्ने धारणा राखे। प्रविधिले अवसर सँगै समस्या पनि पारेको उल्लेख गर्दै उनले ‘डिजिटल डिसिप्लिन’ पालना गर्न अभिभावकलाई अनुरोध गरे । त्यस्तै अपेन राष्ट्रिय स्तरमा बालबालिकाका मुद्दा उठाउन र दबाब बढाउन तयार रहेको उनको भनाइ थियो । सबैको साझा प्रयासले मात्रै आजका बालबालिकालाई भोलिको सुन्दर भविष्यका लागि तयार गर्न सकिने उल्लेख गर्दै उनले कार्यक्रम सफलताको शुभकामना पनि दिए।

१७ विद्यालयका करिब ४५० बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति कार्यक्रममा राखिएको थियो। प्रत्येक प्रस्तुति फरक भाव बोकेको र सन्देश दिने किसिमको देखिन्थ्यो भने नेपाली मौलिक कला, संस्कृति अनि ऐतिहासिक अवस्था चित्रण हुने किसिमको थियो। कार्यक्रमको रोचक पक्ष चाहिँ यति साना उमेरका बालबालिकालाई विद्यालयले दिएको तालिम र उनीहरूमा भरेको आत्मविश्वास देखिन्थ्यो। अझै विशेष त यी प्रस्तुतिहरूले आजको नेपाली समाजको वास्तविक प्रतिबिम्ब मञ्चमा देखाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। थोरै समयमा अपेनले गरेको प्रगतिका लागि बधाई तथा धन्यवाद दिएका उनले अभिभावकहरूले पनि बाल विकासका लागि ध्यान दिनुपर्ने उल्लेख गरे । छाता संगठनका रूपमा प्रि-स्कुलहरुलाई एकताबद्ध बनाउन संस्थाले खेलेको भूमिका उत्कृष्ट रहेको भन्दै उनले त्यसका लागि अपेन धन्यवादको पात्र रहेको बताए। तामाङले आफू र टोखा नगरपालिका सकारात्मक कामका लागि अपेन सँग सहकार्य गर्न सधैँ तयार रहेको बताए।

कार्यक्रम समापन गर्दै अपेन टोखाकी वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता दवाडीले सहभागीताका लागि सबैलाई धन्यवाद दिइन्। भव्य उपस्थितिको माहौलले आयोजकलाई ऊर्जा थपेको उनको भनाई थियो । अपेन टोखाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरेर बालबालिकाहरूको आत्मविश्वास बढाउने काम गर्दै आएको उल्लेख गरेकी उनले अपेन केन्द्रको सत्प्रयासले आफूहरू सबै एउटै मालामा जोडिएका बताइन्। आगामी दिनमा पनि अभिभावकहरूको साथ, सहयोग र माया पाए अपेन टोखाले यस्तै कार्यक्रमहरू गर्दै जाने उनको प्रतिबद्धता थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड