काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूले विभिन्न कन्सल्टेन्सी र संस्थाहरूका व्यावसायिक प्रचार–प्रसारका लागि आफ्नो नाम, फोटो तथा उपाधि प्रयोग गर्ने गतिविधि बढिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले जारी गरेको सूचनामा आचारसंहिता तथा पेसागत आचरण २०७४ अनुसार कुनै पनि चिकित्सकले आफ्नो नाम, फोटो, उपाधि वा साइनबोर्डलाई सामान बिक्री, सेवा प्रवर्द्धन वा अन्य किसिमका व्यावसायिक प्रचारका सामग्रीमा प्रयोग गर्न नमिल्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ। चिकित्सकको साइनबोर्ड पनि व्यावसायिक साइनबोर्डसँग जोडिने गरी राख्न नपाइने काउन्सिलले प्रष्ट पारेको छ।
काउन्सिलले भनेको छ, “अहिलेसम्म स्पष्ट रूपमा रोक लगाइएको भए पनि पछिल्लो समय चिकित्सकहरूको नाम र तस्बिर व्यावसायिक ब्यानर, पम्पलेट र बोर्डहरूमा देखिन थालेका छन्, जुन आचारसंहिता विपरीत गतिविधि हो।”
आचारसंहिता तथा पेसागत आचरणको बुँदा नं. ९ अनुसार यस्ता गतिविधि संलग्न भई उल्लङ्घन भएको पाइएमा काउन्सिलले आवश्यक कारबाही अघि बढाउने चेतावनी दिएको छ।
नेपाल मेडिकल काउन्सिलले सबै चिकित्सा व्यवसायी र सरोकारवालालाई आचारसंहिता र पेसागत मर्यादाको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
