काठमाडौँ – मन्टेश्वरी तथा प्रि–स्कुलहरूको छाता संगठन ‘एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल’ (अपेन) ले लुम्बिनी प्रदेश कार्यसमिति गठन गरेको छ। बुटवलस्थित एसियन पार्टी प्यालेसमा आयोजित कार्यक्रमका क्रममा मन्टेश्वरी तथा प्रि–स्कुलका प्रिन्सिपलहरूको भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिमा अध्यक्ष सरस्वती ढुंगाना, उपाध्यक्ष अर्जुन क्षेत्री, सचिव रूपा गैरे, कोषाध्यक्ष केशव पाठक र सदस्यहरूमा तुलसा राणा, रमेश न्यौपाने, लक्ष्मी भुसाल तथा नवीन पाण्डे चयन भएका छन्। साथै नितु श्रेष्ठ सल्लाहकारमा मनोनीत भएकी छिन्।
अपेनका केन्द्रिय अध्यक्ष बद्रि प्रसाद दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महासचिव कृष्ण कुमार बोहरा विशिष्ट अतिथि तथा केन्द्रीय सदस्य अनिल आचार्य विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बोहराले संगठन प्रिन्सिपल, अभिभावक, बालबालिका, शिक्षक–कर्मचारी र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण पुल को भूमिकामा रहेको बताए। व्यावसायिक सफलता, संस्थागत लगानीको सुरक्षा र कानुनी जटिलताको समाधानका लागि संगठन अनिवार्य भएको उल्लेख गर्दै उनले सबै प्रिन्सिपलहरूलाई अपेनसँग जोडिन आग्रह गरे।
प्रमुख अतिथि दाहालले संगठनको महत्त्व र एकताको शक्तिमा जोड दिँदै अब अपेन लुम्बिनीले सक्रियतापूर्वक आफ्नो भूमिका अघि बढाउनेमा आफू विश्वस्त रहेको बताए । उनका अनुसार संगठनले देशव्यापी रूपमा आफ्नो उद्देश्यअनुरूप प्रभावकारी रूपमा काम गर्दै आएको प्रमाणित भएको छ र सदस्य विद्यालयलाई आवश्यक सहजीकरण गर्दै आएको छ ।