काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक सरुवा प्रक्रिया सहज बनाउन गरिएको प्रयास तत्काल पुरा गर्न नसकिने बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत तिन हप्ता लगाएर संशोधन कार्यविधि तयार गरिएको भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको थाहा पाएपछि हाललाई केही गर्न नसकिएको स्पष्ट परेका हुन्।
मन्त्री पुनका अनुसार लामो समयदेखि सरुवा नपाएर मर्कामा परिरहेका शिक्षकलाई सहज बनाउन सरुवा कार्यविधिको संशोधन खाका तयार गरिएको थियो। यसअघि देखिएका अन्याय र प्राविधिक जटिलताहरू समाधान गर्ने उद्देश्यले कार्यविधि परिमार्जन गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो।
मन्त्री पुनले अदालती प्रक्रिया अन्त्य नभएसम्म संशोधन अघि बढाउन नसकिने स्पष्ट गर्दै मुद्दा दायर गर्ने पक्षले मुद्दा फिर्ता लिनुपर्ने संकेत गरेका छन्।
शिक्षक सरुवा व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन गरिएको प्रयास कानुनी प्रक्रियाको कारण रोकिएपछि हजारौँ सरुवाको पर्खाइमा रहेका शिक्षकहरू अनिश्चिततामा परेका छन्।