काठमाडौँ– दुबईस्थित प्रतिष्ठित Manipal Academy of Higher Education (MAHE Dubai Campus) ले प्रदान गर्ने सर्वोच्च सम्मान Dr. Ramdas M. Pai Excellence Award यस वर्ष प्रतिभाशाली नेपाली विद्यार्थी रुजल श्रेष्ठलाई प्रदान गरिएको छ। शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता र समग्र व्यक्तित्वको मूल्यांकनपछि प्रदान गरिने यो अवार्ड पाउनु रुजलको निरन्तर मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धताको प्रमाण बनेको छ।
Bachelor of Business Administration (BBA) तहमा उत्कृष्ट उपलब्धि हासिल गरेका रुजलले १५ नोभेम्बर २०२५ मा आयोजित विशेष समारोहमा अवार्ड ग्रहण गरेका हुन्। विश्वविद्यालयले अवार्ड प्रमाणपत्रमै “Presented to Rujal Shrestha for Academic Excellence” उल्लेख गर्दै उनको शैक्षिक यात्रालाई उच्च सम्मान व्यक्त गरेको थियो।
युएईमा परिवारसँग बस्दै आएका रुजल अध्ययनसँगै बाबु रमेश श्रेष्ठद्वारा स्थापित GCD Group of Companies मा समेत सक्रिय भूमिका खेल्दै आएका छन्। मध्यपूर्वदेखि दर्जनौँ देशमा विस्तार भएको यो व्यवसायिक समूहमा उनी अभिभावकको साथमा व्यावहारिक अनुभव बटुल्दै आएका छन्। अवार्ड प्राप्त भएको क्षण रमेश–विमला दम्पतीका लागि गर्व र भावनाले भरिएको थियो। बाबु रमेश श्रेष्ठका अनुसार, छोराको लगन र अनुशासनले भविष्यमा अझ ठुलो उपलब्धि हासिल गर्ने आत्मविश्वास उनीहरूलाई थप मजबुत बनाएको छ।
अन्तर्राष्ट्रिय नेपाली समुदायले रुजलको सफलतालाई प्रेरणादायी उपलब्धिको रूपमा लिएको छ। विदेशमा बसेर अध्ययन, व्यक्तित्व विकास र पारिवारिक जिम्मेवारीलाई सन्तुलन गर्दै उत्कृष्टता हासिल गरेको उदाहरणका रूपमा उनीलाई हेरिएको छ। आफ्ना अभिभावकबाट सिकेको परिश्रम र इमानदारी नै आफ्नो ठुलो प्रेरणा भएको रुजल बताउँछन्। MAHE Dubai Campus बाट प्राप्त यस सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको उनले प्रतिक्रिया दिएका छन्।