Matra Education आइतबार, साउन १० २०८३

रिलायन्स इन्टरनेसनल एकेडेमीको २२ औँ स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

रिलायन्स इन्टरनेसनल एकेडेमीको २२ औँ स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, कार्तिक २७ २०८२


काठमाडौँ– सरस्वतीनगर, चाबहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले आफ्नो २२ औँ स्वागत तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरिएको हो।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, विशेष अतिथिका रूपमा युवा नेता मनोज वैद्य र अतिथिको रूपमा महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी तथा रिलायन्सकी पूर्व विद्यार्थी दीपा शाही उपस्थित थिइन्।

करिब ३ हजार विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा नृत्य, गायन, कविता लगायतका विविध सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा रिलायन्सका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ दुई मिनेटको ध्यानबाट गरिएको थियो। त्यसपछि ‘संस्कृति सहितको शिक्षा’ भन्ने नारालाई जीवन्त बनाउँदै नेपाली कला, संगीत र परम्पराको झल्को दिने आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्यका राख्दै रिलायन्सका सह–प्रधानाध्यापक नन्दु कुशवाहले संस्थाको स्थापना देखिका उपलब्धिहरू, शैक्षिक लक्ष्य र आगामी योजनाबारे प्रकाश पार्दै सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रममा प्रमुख अतिथि डा. शर्मा र विशेष अतिथि वैद्यले विद्यार्थीहरूलाई शिक्षा सँगै जिम्मेवार नागरिक बन्ने, देशमै अवसर खोज्ने र सकारात्मक सोचका साथ अघि बढ्ने सन्देश दिए।

यस अवसरमा संस्थामा अध्यापनरत चार प्राध्यापकलाई पिएचडी उपाधि प्राप्त गरे बापत सम्मान र पत्रकार महेश तिमल्सिनालाई समेत सम्मान गरिएको थियो। साथै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो।

रिलायन्स इन्टरनेसनल एकेडेमीमा हाल देशका ७० भन्दा बढी जिल्लाबाट विद्यार्थी अध्ययनरत छन् भने करिब ४०० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले उच्च माध्यमिक तहमा अध्ययन गर्ने गरेका छन्।

औपचारिक सत्रपछि अनौपचारिक भागमा विद्यार्थीहरूले प्रस्तुत गरेका गायन, नृत्य र अन्य सिर्जनात्मक प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेका थिए। कार्यक्रममा रिलायन्सका इसिए/सिसिए कोअर्डिनेटर गोविन्द ढकालको प्रभावशाली सञ्चालनले कार्यक्रमलाई अझ रोचक र व्यवस्थित बनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड