काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तर्फको सेवा केशरमहलबाट सिंहदरबारमै ल्याएको छ। गत भदौ २३ र २४ गतेको ‘जेनजी प्रदर्शन’का क्रममा मन्त्रालयमा तोडफोड र आगजनी भएपछि अस्थायी रूपमा केशरमहलमा सञ्चालनमा आएको मन्त्रालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सिंहदरबारस्थित आफ्नै भवनमा सरेको हो।
मन्त्रालयले आइतबार जारी गरेको सूचनामा आजै दिउँसो ३ बजेबाट शिक्षातर्फका महाशाखा तथा शाखाबाट प्रवाह हुने सबै सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालय भवनबाट सञ्चालन भएको जनाइएको छ।
तर, विज्ञानतर्फका महाशाखा तथा शाखाबाट प्रवाह हुने सेवा भने हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै, सानोठीमीमा रहेका वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी), शैक्षिक प्रमाणपत्र प्रमाणीकरण तथा छात्रवृत्ति शाखाबाट प्रदान गरिने सेवा पूर्ववत् रूपमा सानोठीमी मै निरन्तर सञ्चालन हुने जानकारी समेत दिइएको छ।
मन्त्रालयले सेवा लिने सर्वसाधारण र सरोकारवालाहरूलाई सेवा स्थान परिवर्तनका बारेमा जानकारी गराउँदै तोकिएका स्थानबाट सेवा लिन अनुरोध गरेको छ।
