काठमाडौँ- वेनडी हाउस स्कुल, विशालनगरमा “तिहार मेला २०२५” भव्य रूपमा सम्पन्न भएको छ। शनिवार आयोजित उक्त कार्यक्रम सेन्टर फर अटिजम, वेनडी इन्क्लुसिभ स्कुल र सानफोर्ट वर्ल्ड स्कुल परिवारको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
विद्यालय परिसरलाई रंगीन बत्ती, फूलमालाले सजाइएको कार्यक्रममा विद्यार्थीहरूले आफ्नै हातले तयार पारेका माटाका भाँडा, दिया, चित्रकला, हस्तकलाका वस्तु र विभिन्न मिठा परिकारका स्टलहरूले मेलाको आकर्षण बढाएका थिए। बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम दिउँसोभर उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
विद्यालयकी प्रधानाध्यापक ललिता प्रसाईँको नेतृत्वमा सम्पन्न मेलाले शिक्षा, सिर्जनात्मकता र समावेशी चेतनाको सन्देश फैलाएको छ। अटिजम भएका बालबालिकालाई आत्मविश्वासपूर्वक प्रस्तुत हुन प्रेरित गर्ने उद्देश्यसहित विद्यालयले ‘लर्न एण्ड अर्न’ (सिकौँ र आर्जन गरौँ) भन्ने नारासँग मेलाको आयोजना गरेको थियो।
कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। मेलामा बालबालिकाका सिर्जनात्मक कामहरूको प्रदर्शनसँगै खेलकुद, कला, संगीत र नृत्यका विविध प्रस्तुति गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक प्रसाईँले भनिन्, “हामीले यो मेला सिर्जना, सहकार्य र माया बाँड्ने माध्यमका रूपमा आयोजना गरेका हौँ। हरेक बालकको भित्रको उज्यालो देख्न र उजागर गर्न सक्नु नै तिहारको साँचो अर्थ हो।” उनले विद्यालयमा पठन–पाठनसँगै जीवनका मूल्य र सामाजिक जिम्मेवारी सिकाउने प्रयास निरन्तर जारी रहेको बताइन्।
अभिभावकहरूले पनि विद्यालयले दिएको वातावरण र अवसरप्रति सन्तुष्टि व्यक्त गर्दै बालबालिकाको सिर्जनात्मक क्षमतालाई उजागर गर्न पाएको अवसरप्रति धन्यवाद व्यक्त गरे। एक अभिभावकले मात्र एजुकेसन सँग भने, “यो विद्यालयले हाम्रा बच्चाहरूलाई केवल पढाएको होइन, जीवन बुझ्न सिकाएको छ।”
मेलामा सहभागी बालबालिकामध्ये केहीका लागि रमाइला खेलकुदका गतिविधि राखिएका थिए, जसमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साँझपख विद्यालय परिसर झन् उज्यालो र आकर्षक बनेको थियो।
कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक प्रसाईँले भनिन्, “हाम्रो उद्देश्य मेला मनाउने मात्रै होइन, हरेक बालकको मनमा उज्यालो बाल्ने हो — जसले समाजलाई नै ज्योति दिन्छ।”