Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्री पुनका तीन निकायमा ठोस निर्देशन: नास्टमा सुधार, डिजिटल शिक्षा र नयाँ पाठ्यक्रममा जोड

शिक्षामन्त्री पुनका तीन निकायमा ठोस निर्देशन: नास्टमा सुधार, डिजिटल शिक्षा र नयाँ पाठ्यक्रममा जोड

  • मात्र एजुकेशन
  • बिहिबार, असोज २३ २०८२


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरू सँग छुट्टाछुट्टै भेटघाट गर्दै शिक्षा क्षेत्रका सुधारका विषयमा ठोस निर्देशन दिएका छन्।

मन्त्री पुनले नास्टमा करिब दुई घण्टा बिताउँदै त्यहाँका ल्याब र संरचना अवलोकन गरे। उनले ३७ करोडको बजेटमध्ये २७ करोड प्रशासनिक खर्च र १० करोड अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्टाइएको जानकारी पाएपछि नास्टलाई उच्च कोटीको अनुसन्धान केन्द्र बनाउने योजना तयार पार्न निर्देशन दिए। उनले भवन र ल्याब त उत्कृष्ट भएको तर त्यसअनुसारको काम हुन नसकेको भन्दै यो हप्ताभित्रै ठोस सुझाव पेस गर्न कार्यरत सबैलाई निर्देशन दिएका हुन्।

त्यसपछि मन्त्री पुनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा तीन घण्टा छलफल गर्दै शिक्षक दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय मर्ज गर्ने प्रक्रिया, योग्य र सक्षम प्रधानाध्यापक नियुक्तिको कार्यविधि तयार पार्ने र अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्री निर्माण गर्ने कार्यक्रम बनाउने निर्देशन दिएका छन्। उनले विद्यालयमा दक्ष र जिम्मेवार नेतृत्व अनिवार्य भएको भन्दै देशैभर लागू हुने प्रणाली विकासमा जोड दिएका छन्।

त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गर्दै मन्त्री पुनले सामुदायिक र निजी विद्यालयका पाठ्यक्रम विकास गर्दा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए। उनले पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक सीप, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई प्राथमिकता दिनुपर्ने बताए। साथै मातृभाषाका पाठ्यपुस्तक विकासमा सहयोग गर्न पनि आग्रह गरे।

मन्त्री पुनले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषयलाई १०० अंकको अनिवार्य विषयका रूपमा लागू गरिने जानकारी दिँदै त्यसअनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएका छन्। उनका अनुसार, नयाँ पुस्तालाई प्रविधिसँग नजिक ल्याउन र व्यावहारिक शिक्षामा जोड दिन यो कदम अत्यन्त जरुरी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड