काठमाडौँ- सिंहदरबार परिसरमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएपछि सार्ने तयारी गरिएको छ। तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सारेर मन्त्रालयको काम गर्ने तयारी भइरहेको बुझिएको छ।
सार्न प्रस्ताव गरिएको ठाउँमा पनि मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी मन्त्रालयका अधिकारीहरूले गरेका छन् ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरू, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौँ जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।
शिक्षा मन्त्रालयका कोठाहरू र काठको भर्याङ जलेका छन् । आज शनिवार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।