काठमाडौँ– चाबहिलस्थित टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सुशासन र विकासका लागि व्यवस्थापन र सूचना प्रविधिमार्फत उच्च शिक्षामा नवप्रवर्तन (Innovating Higher Education Through Management and IT for Good Governance and Development) भन्ने मूल विषयका साथ आयोजित राष्ट्रिय सम्मेलन शुक्रवार सम्पन्न भएको हो।
शुक्रवार बिहान सम्पन्न सम्मेलनको उद्घाटन सत्र टेक्सासका अध्यक्ष भेषराज पोखरेलको सभापतित्व तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। औपचारिक कार्यक्रमको उक्त सत्रमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्ले, त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा डा शंकर प्रसाद खनाल, खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा लेखनाथ शर्मा, आइओइ पुल्चोकका प्रा डा सुवर्ण शाक्य, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपाल सहित अन्य विभिन्न विश्वविद्यालयका डिनहरू, प्राध्यापकहरू तथा प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरूको आतिथ्य रहेको थियो। कार्यक्रममा टेक्सासका संरक्षक प्रा डा केशव कुमार श्रेष्ठ, चिफ अफ एकेडेमिक्स प्रा डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्राचार्य श्याम सुन्दर श्रेष्ठ लगायतका प्रशासकहरू तथा अध्यापकहरूको उपस्थिति रहेको थियो।
एक दिने उक्त सम्मेलनमा उच्च शिक्षामा व्यवस्थापन, सूचना प्रविधि र सुशासनका विभिन्न पक्षहरूबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।
सम्मेलनमा बिहान र अपराह्न गरी दुई सत्रमा कार्यपत्र प्रस्तुत गरिएको थियो। चार वटा फरक हलहरूमा समानान्तर रूपमा चलेका सत्रहरूमा कृत्रिम बुद्धिमत्ता, डाटा प्रबन्धन, साइबर सुरक्षा, डिजिटल वित्त, नेतृत्व, उच्च शिक्षा शासन, व्यवसाय, दिगो विकास, संस्कृति, समाज, दर्शन र सूचना प्रणालीसम्बन्धी ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत भएका थिए।
कार्यक्रममा मानसिक स्वास्थ्य पहिचानदेखि लिएर ब्लकचेन र एआई आधारित निर्णय प्रणाली, ग्रामीण–सहरी शिक्षा विभाजन, पर्यटन प्रवर्द्धन, सामाजिक सञ्जालमा किशोरको अनुभव, विद्यालय परामर्श र भाषिक विविधता संरक्षणसम्मका विषयमा बहु-आयामिक छलफल भएको थियो।
सम्मेलनपछि मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सासका प्राचार्य श्रेष्ठले भने, “टेक्सासले सदैव शैक्षिक उत्कृष्टता र अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ। यस किसिमको सम्मेलनले उच्च शिक्षालाई नयाँ दृष्टिकोण दिन्छ, जुन केवल शैक्षिक संस्थासम्म सीमित नभई समाज र राष्ट्र निर्माणमै योगदान पुर्याउने खालको छ। अहिलेको विश्वमा सूचना प्रविधि र व्यवस्थापन बिचको सहकार्य अपरिहार्य छ, तर त्यसमाथि सुशासनको आधार नभएसम्म शिक्षा प्रभावकारी हुँदैन। यस सम्मेलनमार्फत प्रस्तुत भएका विचार र अनुसन्धानहरूले शिक्षामा दिगोपन, नवीनता र पारदर्शितालाई बल दिनेछ भन्ने हाम्रो विश्वास छ।”
उनले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च शिक्षा र अनुसन्धानको क्षेत्रमा टेक्सास अग्रसर रहने बताए।
