काठमाडौँ- फिनल्यान्ड अध्ययनका लागि परिचित परामर्श संस्था आइडिबि ग्लोबल सर्भिसेसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका स्थित दुई विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। केही दिन अघि उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ गगनको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका सभापति लायन्स क्लब अफ काठमाडौँ गगनका अध्यक्ष विष्णुकुमार सुवेदी रहे भने प्रमुख अतिथि बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र ब. थापा थिए। कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ डि का डिस्ट्रिक्ट गभर्नर महेश आचार्य, गाउँपालिका–२ का वडाध्यक्ष तिलक ब. कुँवर लगायतको सहभागिता रहेको थियो।
यस कार्यक्रम मार्फत बन्दीपुर गाउँपालिका–२ स्थित श्री कालिका माध्यमिक विद्यालयलाई १३५ वटा स्कुल ब्याग, १३५ दर्जन कापी, कलम, पेन्सिल, डेढ लाख बराबरका पुस्तक तथा ३० हजार बराबरका खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो।
यस्तै, सोही गाउँपालिका–२ स्थित श्री भैरव आधारभूत विद्यालयलाई २० जनालाई लत्ताकपडा, २० दर्जन कापी, पेन्सिल तथा ५० हजार बराबरका खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ।
यस कार्यक्रमलाई सफल बनाउन विशेष पहल गर्ने काम आइडिबि ग्लोबल सर्भिसेसका निर्देशक विष्णु थापाले गरेका थिए।
कार्यक्रमको समापनमा बोल्दै आइडिबि ग्लोबल सर्भिसेसका प्रबन्ध निर्देशक इश्वर घिमिरेले आफूहरू व्यवसाय मात्रै नभई सामाजिक उत्तरदायित्व पनि बहन गर्ने भाकाले प्रायोजन गरिएको बताए। उनले भने, “शिक्षा र खेलकुदमा लगानी गर्नु भनेको उज्ज्वल भविष्यमा लगानी गर्नु हो। हामी आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर गर्नेछौँ। यो कार्यक्रम आयोजना गर्ने लायन्स क्लब अफ काठमाडौँ गगन, उपस्थित हुने सबै अतिथि र साथ दिने सबैलाई धन्यवाद”
कार्यक्रममा बोलेका अन्य वक्ताहरूले आयोजक र प्रायोजक दुवैलाई महान् काम गरेको भन्दै धन्यवाद दिए।
