काठमाडौँ- शिक्षालय राष्ट्रिय मासिकद्वारा आयोजित सार्क एजुकेसन कन्क्लेभ–२०२५ सम्पन्न भएको छ। शुक्रवार आयोजित कार्यक्रममा मात्र एजुकेसनका सम्पादक रमेश लामिछाने ‘एजुकेसन जर्नलिस्ट अवार्ड’ बाट पुरस्कृत भएका छन्। उनीसँगै अनलाइन खबरका शिक्षा पत्रकार दिनेश गौतमले पनि ‘एजुकेसन जर्नलिस्ट अवार्ड’ प्राप्त गरेका छन्। दुवैलाई १० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
बुढानीलकण्ठ स्थित लेमन ट्रि प्रिमियरमा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत र बंगलादेशका शिक्षाविद्, शैक्षिक संस्था तथा शिक्षा सेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दुई वटा प्यानल डिस्कसन र विभिन्न शैक्षिक विषयमा प्रस्तुतीकरण भएका थिए। पहिलो प्यानल डिस्कसन “रिमेनिङ एजुकेशन फर द फ्युचरः इनोभेसन एण्ड लङ लाइफ लर्निङ” विषयमा र दोस्रो प्यानल डिस्कसन “अपर्चुनिटिज एण्ड च्यालेञ्जेज, एजुकेशन अफ सार्क नेसन” शीर्षकमा सम्पन्न भएको थियो। नेपाल, भारत र बंगलादेशका विज्ञ शिक्षाविद्हरूले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए।
समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी लगायतका अतिथिहरूले विभिन्न अवार्ड प्रदान गरेका थिए।
कार्यक्रममा नेपालका विभिन्न शैक्षिक संस्थाहरू तथा शिक्षासेवीहरु सहित सहभागी सार्क मुलुकका शिक्षाकर्मीहरू पुरस्कृत भएका थिए।
समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले शिक्षामा गुणस्तरीय सुधारका लागि सार्क देशबिच सहकार्य अपरिहार्य रहेको बताए। उनले शिक्षा विकासका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका आयोजक श्याम तण्डुकारले कन्क्लेभ अत्यन्त सफल भएको भन्दै आगामी वर्ष सम्भव भएसम्म श्रीलंकामा आयोजना गर्ने तयारी गरिएको बताए।

