काठमाडौँ- चाबहिलको सेन्ट लरेन्स कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको छ। शुक्रवार चाबहिलको इम्पेरीयल ब्याङ्केटमा आयोजित एक औपचारिक कार्यक्रमका बिच कलेजले २०८०/८१ ब्याचमा प्लस टु तह पुरा गरेका २७ औँ ब्याचका विद्यार्थीलाई उक्त तहबाट बिदाइ गरेको हो । त्यसो त स्नातक तहमा आफ्ना विद्यार्थीलाई फेरि स्वागत गर्ने पनि कलेज प्रशासनले जनाएको छ ।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा कलेजका प्राचार्य पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी सहित अन्य प्रशासकहरू, शिक्षक शिक्षिकाहरू तथा कक्षा १२ उत्तीर्ण गरेका करिब ६५० विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्राचार्य महर्जनले एउटा तहको अन्त्य सँगै अर्को बाटो सुरु हुने जीवनको सुन्दर पक्ष भएको उल्लेख गरे। यो पटक प्राप्त उत्कृष्ट नतिजाका लागि बधाई तथा आगामी दिनका लागि सफलताको शुभकामना दिएका उनले विद्यार्थीले अब छान्ने विषय र गर्ने मेहनतले उनीहरूको आगामी भविष्य निर्धारण गर्ने बताए। आफूले दुई वर्ष अगाडी यो ब्याचलाई स्वागत गर्दै गर्दा जीवनकै उत्कृष्ट दुई वर्ष हुन्छ भनेको स्मरण गर्दै उनले विद्यार्थीले पनि त्यही अनुभव गरेको विश्वास व्यक्त गरे। विद्यार्थीको अबको भविष्य उनीहरूको मात्रै नभई परिवार, सेन्ट लरेन्स र राष्ट्रकै भविष्य हुने भन्दै सेन्ट लरेन्स परिवार विद्यार्थीको सफलता र उपलब्धिको कथा सुन्न सदा आतुर रहने भनाई राखे।
कक्षा १२ उत्तीर्ण गरेकी विद्यार्थी प्रेरणा बटलाले सेन्ट लरेन्समा दुई वर्ष पढ्दाको क्षण जीवनभरका लागि स्मरणीय हुने बताइन्। आफू पहिलो दिन सेन्ट लरेन्स आए देखि कक्षा कोठामा अध्ययन गर्दाका अनुभव सम्म बाँडेकी उनले नयाँ शैक्षिक यात्रा तर्फ आफूहरू अगाडी बढिरहेको भन्दै सबै जना उक्त यात्रामा सफल हुने विश्वास व्यक्त गरिन्। उनले सेन्ट लरेन्सले आफूहरूलाई उत्कृष्ट नतिजा ल्याउन सक्षम बनाएको भन्दै धन्यवाद दिइन्।
शिक्षकहरूको प्रतिनिधित्व गर्दै मन्तव्य दिएका महेश तिम्सिनाले कक्षा १२ को कठिन यात्रा पार गरेकोमा विद्यार्थीहरूलाई बधाई दिए। कार्यक्रममा विद्यार्थीहरूलाई बिदाइका लागि नभई नयाँ यात्रा आरम्भको उत्सव मनाउन आमन्त्रण गरिएको उनको भनाई थियो। कक्षा १२ पछिको शिक्षामा चुनौती र अवसर दुवै हुने भन्दै उनले चुनौतीका पहाड पार गर्न सक्ने गरी आफैँले जिन्दगीको राजमार्ग कोर्न सुझाव दिए। उनले सबै विद्यार्थीलाई अघिल्लो शैक्षिक यात्रा सफलताको शुभकामना दिए ।
सेन्ट लरेन्सका प्रधानाध्यापक सुवेदीले उत्कृष्ट नतिजा प्राप्त गरेर गौरवान्वित बनाएको ब्याचको सम्मानमा कार्यक्रम आयोजना गरिएको बताए। यस किसिमको उत्कृष्ट नतिजाका लागि मेहनत गर्ने शिक्षक विद्यार्थी दुवै बधाईको पात्र भएको बताएका उनले उच्च शिक्षाका लागि विद्यार्थीलाई शुभकामना समेत दिए। पछिल्लो समय शिक्षाका नाममा बिदेसिने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमै शिक्षा लिएर योग्यता अनुसारको काम गर्न सकिने र सहज जीवनयापन गर्न सकिने उल्लेख गर्दै सकेसम्म नेपालमै उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई अनुरोध गरे।
हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको सेन्ट लरेन्सले यस वर्ष पनि त्यस्तै नतिजा प्राप्त गरेको कार्यक्रममा बताइएको थियो। प्रत्येक संकाय बाट सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई उक्त अवसरमा कलेजले सम्मान पनि गरेको थियो। कलेजले सबै ६५० विद्यार्थीहरूलाई मायाको चिनो सहित सम्मान गरेको थियो।
कार्यक्रमका सभापति दंगालले उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै सबैलाई बधाई दिए। यस्तो नतिजा यो पटक मात्रै आएको नभई सेन्ट लरेन्सको उत्कृष्टताको निरन्तरता भएको उनको भनाई थियो। यो पटक प्लस टु मा समेत राम्रो विद्यार्थी भर्ना गर्न सफल भएको बताएका उनले १२ पास गरेका विद्यार्थीलाई बिदाइ गर्ने होइन सधैँ सँगै राख्ने चाहना कलेज प्रशासनको रहेको बताए। विद्यार्थी अभिभावकको हितमा आफूहरू सधैँ केन्द्रित भएको, गुणस्तर, परिवर्तन र रूपान्तरणका लागि काम गर्ने गरेको, सबैको भविष्य आफूहरूको भन्दा उज्ज्वल बनाउन लागिपरेको उल्लेख गरेका उनले यस्तै कारणहरूले सेन्ट लरेन्स अरूभन्दा पृथक् भएको बताए। मध्यम स्तरको शुल्क तिरेर गुणस्तरको शिक्षा दिने काम गर्दै आएको हुँदा यो पटक पनि आफ्नै कलेजमा स्नातक तह पढ्न चाहने विद्यार्थीलाई विशेष सुविधा दिने भन्दै आकर्षक छात्रवृत्ति प्याकेजको घोषणा समेत गरे। दंगालले सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै औपचारिक कार्यक्रम समापन गरे।
औपचारिक कार्यक्रम समापन पश्चात् कलेजका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सहितको अनौपचारिक सत्र सञ्चालन गरिएको थियो।
सेन्ट लरेन्स कलेज विभिन्न शैक्षिक अवार्ड तथा पुरस्कारहरू द्वारा सम्मानित कलेज हो। कलेजले अहिले स्नातक तहमा विभिन्न संकायमा भर्ना लिइरहेको छ।