काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित नमुना संयुक्त राष्ट्रसङ्घको १० औँ संस्करण रिलायन्स पब्लिक स्कुलको प्राङ्गणमा सुरु भएको छ। बिहीबार विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गरिएको हो।
विद्यालय एवम् विश्वविद्यालय स्तरका बालबालिकाहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ ? भनेर बुझ्न बुझाउन रिलायन्स पब्लिक स्कुल नमुना राष्ट्रसङ्घ (आरपीमुन) बनाएर २०१६ सालदेखि अनवरत रूपमा क्रियाशील रहेको कार्यक्रममा जानकारी गराइएको थियो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व आवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व वीर पराजुली प्रमुख अतिथिका रूपमा रहेका थिए। विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्य रहेको कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालकहरू, प्रशासकहरू, शिक्षक कर्मचारीहरू सहित विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरू, सञ्चारकर्मीहरू तथा विभिन्न विद्यालय बाट प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिन आएका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राखेका थिए। उनले विद्यार्थीको सर्वपक्षीय विकासका लागि रिलायन्स एजुकेसन नेटवर्कले काम गर्दै आएको र यो कार्यक्रम त्यसैको निरन्तरता भएको बताए। पछिल्लो पुस्तालाई विश्व परिवेश बुझाउन, त्यहाँ आउने समस्याहरू देखाउन र वार्ताका माध्यम बाट त्यसको समाधान खोज्न अग्रसर गराउन कार्यक्रमले अर्थपूर्ण भूमिका खेल्ने उनले बताए।
कार्यक्रम बारे विस्तृत जानकारी गराउँदै दशौँ संस्करणको आरपिमुनका सम्मेलन निर्देशक दिलीप नेपालले तिन दिने सम्मेलन अर्थपूर्ण हुने विश्वास व्यक्त गरे। २०० जना विद्यार्थीहरूलाई ८ वटा विभिन्न कमिटीमा राखेर छलफल गराइने हुँदा आजका चुनौती समाधान गर्न सक्ने उपाय पत्ता लाग्नेछ भन्ने विश्वास आयोजकको रहेको उनले बताए। सन् २०१६ मा नमुना संयुक्त राष्ट्रसङ्घको कार्यक्रम सुरु गरेको स्मरण गर्दै उनले कार्यक्रम उपयोगी हुने देखेर नै कोरोनाको कठिन समयमा पनि जारी राखेको उल्लेख गरे। यस किसिमका कार्यक्रमले सुख, शान्त, समृद्ध र बस्न लायक विश्व बनाउने काममा योगदान गर्ने उनको भनाई थियो। नेपालले कार्यक्रममा प्रमुख अतिथिको परिचय समेत गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले यस्ता कार्यक्रमहरूले संयुक्त राष्ट्रसङ्घले काम गर्ने तरिकाहरू बारे विद्यार्थीलाई बुझाउन मद्दत गर्ने धारणा राखे। संयुक्त राष्ट्रसङ्घका लागि ४० वर्ष काम गर्दा आफूले १० वटा विभिन्न देशमा हासिल गरेको अनुभव बारे चर्चा गरेका उनले आफू रिलायन्सका विद्यार्थीको क्षमता देखेर प्रभावित भएको र भविष्यमा संयुक्त राष्ट्रसङ्घमा कम गर्ने सम्भावना बोकेका अनुहारहरू देखेको बताए। नमुना संयुक्त राष्ट्रसङ्घका कार्यक्रमहरूमा समाधानको कुरा बढी गर्ने गरिएको भन्दै उनले भने, ‘मुन हरुमा खाली समाधानको पाटो बढी चर्चा हुने गरेको देखेको छु। अब हामी आफूले युएन एजेन्सीहरूले गर्ने कामको बारे बुझौँ । युएनले गरेका कामहरूले मानव जीवनमा पारेको प्रभाव बारे पनि प्रचार गरौँ । नेपालले अहिले एउटा कमिटीको चेयर गरिरहेको छ त्यो हाम्रा लागि गर्वको कुरा हो, त्यसबारे पनि चर्चा गरौँ’
पराजुलीले आजको विश्वका समस्या, तिनलाई समाधान गर्न संयुक्त राष्ट्रसङ्घले खेलिरहेको भूमिका, नेपालको वर्तमान नेतृत्व, त्यसको अदूरदर्शिता र हाम्रो समाजमा त्यसले पारेको असर बारे लामो चर्चा गरे। उनले विद्यार्थीहरू माझ आउँदा आफू पनि युवा भएको महसुस हुने भन्दै यो पुस्ताले सही निर्णय र काम गर्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीहरूलाई केही सफलताको सूत्रहरू समेत दिँदै आरपीमुनको पूर्ण सफलताको कामना गरे।
कार्यक्रममा विभिन्न संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि समितिहरूलाई पिन वितरण पनि गरिएको थियो।
कार्यक्रमका सभापति तथा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष थापाले आरपिमुन उपस्थित सबैलाई सम्झना लायक क्षण बन्ने बताए। सम्मेलन खाली एउटा शैक्षिक कार्यक्रम मात्रै नभई विश्वका चुनौतीहरू बुझेर सिर्जनात्मक समाधानहरू खोज्ने थलोका रूपमा रहेको उनले बताए । आरपिमुन वास्तविक युएन सेमिनारको सूक्ष्म रूप भएको उल्लेख गरेका उनले बौद्धिक विकास, आलोचनात्मक चेतको विकास र विश्व विकासमा रुचि जगाउन कार्यक्रम सहयोगी हुने धारणा राखे। उपस्थित सबै सहभागीलाई आफ्नो कमिटीमा सफलताको शुभकामना दिएका उनले सहभागीले छलफल गरेर निकाल्ने निष्कर्ष विश्वकै लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
थापाको सम्बोधन पश्चात् आरपिमुनको दशौँ संस्करणकी महासचिव प्राश्ना थपलियाले औपचारिक उद्घाटन समारोह समापन र नवौँ सम्मेलन सुरुवातको घोषणा गरिन्।
बिहीबार सुरु भएको कार्यक्रम आगामी श्रावण ३१ गते सम्म सञ्चालन हुनेछ। काठमाडौँ उपत्यका लगायत रुपन्देही, चितवन, धनुषा, नवलपुरका कुल २२ शैक्षिक संस्थाहरूका २०० भन्दा बढी विद्यार्थीहरूले विश्वमा भइरहेका जल्दा बल्दा समस्याको बारेमा छलफल गरी त्यस्ता समस्याको समाधानका उपाय समेत निकाल्ने प्रयास कार्यक्रममा गर्ने रिलायन्स प्रशासन बताउँछ। विद्यार्थीहरूमा कूटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले सुशोभित दक्ष नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा संस्थाको विश्वास रहेको छ।
कार्यक्रमका थप तस्बिरहरु हेर्नुहोस्: