काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ। उपसमितिले दिएको प्रतिवेदन पास गर्ने कार्यसूची सहित बसिरहेको बैठकले केही महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
समितिको आजको बैठकले विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको छ । आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको हो ।
त्यस्तै आजकै बैठकले नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पनि पारित गरेको छ।
यसैगरी उक्त बैठकले विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पनि पारित गरेको छ ।