काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण गरेको हो ।
सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व बैंकर तथा उत्प्रेरक वक्ता अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा रहेका थिए। राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी अध्यक्ष जयन्ती सत्याल, प्रत्यारोपण चिकित्सक डा पुकार चन्द्र श्रेष्ठ लगायतको विशेष आतिथ्य रहेको कार्यक्रममा कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी सहित अन्य प्रशासकहरू, विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू तथा कलेजका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित सांगीतिक दम्पती महेश काफ्ले र अस्मिता अधिकारीले विशेष प्रस्तुति दिएका थिए।

निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई कार्यक्रम सञ्चालक एनके खड्काले कलेजको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २८ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत २९ औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सेन्ट लरेन्सका क्याम्पस प्रमुख महर्जनले नयाँ उद्देश्य र उत्प्रेरणा बोकेर देशभर बाट आएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताए। २९ औँ ब्याच सम्म आइपुग्दा सर्वोत्कृष्ट प्लस टुका रूपमा सेन्ट लरेन्स स्थापित भएको र यो उपलब्धि सबैको मेहनत र सहकार्यले प्राप्त भएको उनले उल्लेख गरे। माध्यमिक शिक्षा परीक्षा पास गरेर आएका विद्यार्थीहरूको अबको यात्रा अझै चुनौतीपूर्ण हुने हुँदा मेहनत गरेर उच्च शिक्षाका लागि आधार बनाउने अठोट लिन उनले विद्यार्थीहरूलाई अपिल गरे। कलेजले प्राप्त गरेको विभिन्न महत्त्वपूर्ण उपलब्धिहरू र पुरस्कारहरूको चर्चा गरेका उनले विद्यार्थीको क्षमता विकास र प्रतिभा प्रस्फुटन गरी प्रगतिको सारथि बन्न सेन्ट लरेन्स तयार रहेको बताए । आजको विश्व सुहाउँदो मानव जनशक्ति उत्पादन गर्ने लक्ष्य कलेजले बोकेको भन्दै विद्यार्थीको भविष्य निर्माणका लागि कलेजले कुनै कसर बाकी नराख्ने उल्लेख गरे।

कार्यक्रममा हाल अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा १२ मा अध्ययनरत छात्र कुशल दंगालले सेन्ट लरेन्समा अध्ययन गरिरहँदाको आफ्नो अनुभव बाँड्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे । १ वर्ष अघि आफू पनि के होला? कस्तो होला भन्ने दुबिधा सहित तलको भिडमा बसेको र आज कलेजले आफूलाई गरिरहेको मार्ग निर्देशन बाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कलेजले शिक्षा मात्रै नभई व्यक्तित्व विकासका लागि पनि काम गर्ने र थुप्रै अवसर दिने हुँदा सेन्ट लरेन्स सँगको प्रत्येक दिन अर्थपूर्ण हुने उनले बताए।
कलेजले सेन्ट लरेन्समा अध्ययन गरेर उत्कृष्ट नतिजा पाउन सफल हाल अध्ययनरत विद्यार्थीहरू, सेन्ट लरेन्स बाट अध्ययन गरेर आज विभिन्न क्षेत्रमा स्थापित पूर्व विद्यार्थीहरू, विभिन्न क्लबका नेतृत्वकर्ताहरू र उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको थियो।

आफ्नो प्लस टु छनोटको अनुभव बाँड्न मञ्चमा उक्लिएकी कक्षा ११ मा भर्खरै भर्ना भएकी छात्रा अनिशा कटवालले अत्यन्तै राम्रो कार्यक्रम मार्फत स्वागत गरेको भन्दै कलेज प्रशासनलाई धन्यवाद दिइन् । आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गरेकी उनले सोही मञ्च मार्फत आफूलाई एसइईमा ४ जिपिए ल्याएर उत्तीर्ण गर्न सफल बनाउने विद्यालय र शिक्षकहरूलाई धन्यवाद दिइन् । धैर्यता र समर्पण बिना सफल हुन नसकिने धारणा राखेकी उनले सेन्ट लरेन्सले आफूहरूलाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा बलियो र संवेगात्मक रूपमा सन्तुलित बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा कक्षा ११ मा पढाउने अध्यापकहरू, प्रशासन तथा अन्य कर्मचारीहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सेन्ट लरेन्सको इतिहास, हालसम्मका उपलब्धि र आगामी योजनाहरू पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रधानाध्यापक तारा प्रसाद सुवेदीले कार्यक्रममा स्वागत गरिएका कक्षा ११ का विद्यार्थीहरूलाई आगामी दिनमा सफलताको अग्रदूतका रूपमा हेर्न पाइने विश्वास व्यक्त गरे। कार्यक्रममा सम्मानित भएका विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धिले नै सेन्ट लरेन्सको परिचय स्पष्ट गरिसकेको उल्लेख गर्दै सुवेदीले नयाँ विद्यार्थीहरू पनि यस्तै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। सैद्धान्तिक शिक्षा र अतिरिक्त क्रियाकलाप दुबैमा विद्यार्थीहरूलाई सक्रिय बनाउने लक्ष्य अनुसार ११ वटा विभिन्न क्लबहरू सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले सेन्ट लरेन्स नेतृत्व विकासको थलो भएको बताए। उनले विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्दै विद्यार्थीको भविष्य निर्माणका लागि कलेज सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमकी विशेष अतिथि सत्यालले सेन्ट लरेन्स कलेजप्रति शुभकामना व्यक्त गर्दै यसको सक्रियता सधैँ जीवन्त रहोस् भन्ने कामना गरिन्। परीक्षा बोर्डले कक्षा १२ को नतिजा केही दिनमै प्रकाशित गर्न लागेको र सोही कारण व्यस्त रहने भएकाले कार्यक्रममा सम्पूर्ण समय दिन नसक्ने उनले बताइन्। सत्यालले देश निर्माणका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। ४ जिपिए ल्याउने मात्र सक्षम हुन् भन्ने गरिएको प्रति चिन्ता व्यक्त गर्दै उनले ती विद्यार्थीहरूले सबै विषयमा सन्तुलन मात्रै कायम गरेको उल्लेख गरिन्। उनका अनुसार जिपिए सँगै जीवनमा सफल हुने सिप सिक्नु आजको आवश्यकता हो।

कार्यक्रममा डा. पुकार चन्द्र श्रेष्ठले आफ्नो बाल्यकाल, विद्यार्थी जीवन, संघर्ष, सफलता र अंग प्रत्यारोपणका क्षेत्रमा आफूले ल्याएको परिवर्तनहरू बारे जानकारी दिँदै विद्यार्थीहरूलाई उपयोगी मन्तव्य दिएका थिए।

कार्यक्रममा विशेष प्रस्तुति दिँदै विद्यार्थीलाई उत्प्रेरणा तथा परामर्श प्रदान गरेका प्रमुख अतिथि शाहले तारिफयोग्य प्रस्तुति दिएका थिए। कार्यक्रमको सुरुवातमा बजेको ‘मेरो देश डुब्न लाग्यो’ गीतको भाव बाट मन्तव्य सुरु गरेका उनले देश निर्माणमा विद्यार्थीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। “यो देशलाई किनारा लगाउने कोही खोज्ने होइन, त्यो काम गर्ने त अबको पुस्ताले नै हौ,” उनले भने। शाहले विद्यार्थीहरूलाई आफ्नो क्षेत्रमा इमानदारीपूर्वक लाग्न प्रेरित गरे।
११ कक्षामा पढ्न आउँदा विद्यार्थीहरूले पहिलो पटक जीवनको महत्त्वपूर्ण निर्णय गर्न लागेको उल्लेख गर्दै उनले गलत बाटो रोजे गन्तव्यसम्म पुग्न नसकिने चेतावनी दिए। सेन्ट लरेन्स जस्तो प्रतिष्ठित कलेजमा पढ्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै उनले आज नेपालका धेरै किशोर–किशोरी सडकमा काम गरिरहेको कटु यथार्थ पनि प्रस्तुत गरे। नेपालमै सफल भएका थुप्रै व्यक्तिहरूको उदाहरण दिँदै उनले विद्यार्थीलाई सिकाईका लागि सधैँ तयार रहन अपिल गरे। करिब ४० मिनेट आफ्नो प्रस्तुति दिएका उनले विद्यार्थीहरूमा नयाँ ऊर्जाको सञ्चार गराएका थिए।

कार्यक्रमको बिच बिचमा नेपालको विभिन्न भूगोल र संस्कृतिको प्रतिनिधित्व गर्ने सांस्कृतिक नृत्यहरू राखिएको थियो जसले कार्यक्रमलाई अझै विशेष बनाएको थियो। ती प्रस्तुतिहरूमा पनि डोल्पा जिल्लाका करिब १५ जना नवआगन्तुक विद्यार्थीहरूले प्रस्तुत गरेको डोल्पो नृत्यले सबैको ध्यान खिचेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष दंगालले विद्यार्थीले आफ्नो क्षमता चिनेर त्यही अनुसार अघि बढुन् भन्ने कामना गरे। उनले विद्यार्थीको हितका लागि कलेज सधैँ साथमा रहने उल्लेख गरे। उनले २९ औँ ब्याचमा अघिल्ला वर्षको तुलनामा अझ बढी विद्यार्थी र अझ धेरै जिल्लाबाट सहभागिता भएकोमा खुसी व्यक्त गरे। डोल्पाबाट आएको नाच प्रस्तुत गर्ने समूहलाई उदाहरण दिँदै उनले सेन्ट लरेन्सको पहुँच देशका सबै कुनामा फैलिएको प्रस्ट पारे।
विभिन्न आधारहरूले सेन्ट लरेन्स आम कलेजहरू भन्दा फरक भएको उनको दाबी थियो। त्यसलाई पुष्टि गर्न उनले डिआइ नराखिएको, सिंगो सञ्चालक समिति बसेर चलाएको, पैसा लगानी गर्न सक्ने मात्रै नभई पढाउन सक्ने मजबुत एकेडमिक टिमको सञ्चालक समिति रहेको आदि आधारहरू प्रस्तुत गरे। कार्यक्रममा डाक्टर देखि पाइलट सम्म सम्मानित भएको भन्दै उनले भर्खर आएका विद्यार्थीलाई पनि कलेजले त्यस्तै सफल बनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीहरू सही यात्रामा रहेको र आफूहरूले उनीहरूलाई गन्तव्यमा पुर्याइछाड्ने उनले बताए। सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना सहित उनले औपचारिक कार्यक्रम समापन गरे।

कार्यक्रमको अनौपचारिक सत्रमा महेश र अस्मिताको प्रस्तुति सहित सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरपुर विविध प्रस्तुतिहरू देखाइएको थियो।
