Matra Education आइतबार, साउन १० २०८३

कक्षा ११ का लागि टेक्सास इन्टरनेसनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कक्षा ११ का लागि टेक्सास इन्टरनेसनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ८ २०८२


काठमाडौँ- चाबहिलको टेक्सास इन्टरनेसनल कलेजले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई कलेजको विविध पक्षहरू बारे जानकारी गराएको हो । कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र अभिमुखीकरण सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।

टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेस राज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा आध्यात्मिक चिन्तक, पूर्वीय दर्शनका ज्ञाता डा. चिन्तामणि योगी र विशेष अतिथिका रूपमा उत्प्रेरक वक्ता डा. रविन कटवाल रहेका थिए। कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठ सहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थी सहित अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

स्वस्ति वाचन बाट सुरु भएको कार्यक्रममा गायन, नृत्य सहित अन्य विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश थिए। कार्यक्रम सञ्चालक तथा टेक्ससका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराउँदै कलेजमा रहुन्जेल पाउने सेवा सुविधा र पालना गर्नुपर्ने नियमहरूका बारेमा जानकारी गराएका थिए। सँगै अध्यापक परिचय कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सासले आफ्नो नारा जस्तै विद्यार्थीलाई पूर्ण मानव बनाउने बताए। आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सिपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताएका उनले मन्टेश्वरी देखि मास्टर्स सम्मकै शिक्षाको लागि संस्था प्रसिद्ध रहेको उल्लेख गरे। श्रेष्ठले कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने उल्लेख गरे। उनले सङ्गत गुनाको फल हुने स्मरण गराउँदै उपयुक्त व्यक्तिको मात्रै निकट रहन सुझाव दिए। श्रेष्ठले सबै विद्यार्थीको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका चिफ अफ एकेडेमिक्स प्रा. डा. आचार्यले विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा पछिको शैक्षिक यात्रा अगाडी बढाउने सन्दर्भमा महत्त्वपूर्ण सुझावहरू दिए। उनले आधा भन्दा बढी विद्यार्थी असफल भएको परीक्षामा सफलता हात पारेर टेक्सास जस्तो संस्थामा अध्ययन गर्न पाउनु गौरवको कुरा भएको भन्दै बधाई दिए। नयाँ अवधारणा खोज्ने र सिकाइका लागि उत्सुक हुने विद्यार्थीलाई टेक्सासले सधैँ सम्मान गर्ने उल्लेख गरेका आचार्यले संसारका सबै सफल मानिसहरूमा अध्ययन गर्ने साझा बानी हुन्छ भन्ने बुझेर पढ्न सुझाव दिए।

टेक्सासमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूले पनि कार्यक्रममा आफ्नो अनुभव बाडेका थिए। उनीहरूले टेक्सास आफ्ना विद्यार्थीको सर्वपक्षीय विकास गर्ने र अपेक्षा पुरा गर्न सक्ने शैक्षिक संस्था भएको धारणा राखे। त्यस्तै कक्षा ११ मा नयाँ भर्ना भएका केही विद्यार्थीहरूले टेक्सास आफ्नो रोजाई किन बन्यो र अपेक्षा के छ भन्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा विशेष प्रस्तुति दिँदै विद्यार्थीलाई उत्प्रेरणा तथा परामर्श प्रदान गरेका उत्प्रेरक वक्ता डा. कटवालले तारिफयोग्य प्रस्तुति दिएका थिए। जीवनमा सफल हुन र संसार जित्न चाहिने हिम्मतका लागि उत्प्रेरणा प्रदान गरेको बताउने कटवालले पनि प्लस टु मध्य उत्कृष्ट कलेजमा भर्ना पाएको भन्दै विद्यार्थीलाई बधाई दिएका थिए । उनले शान्त बन्ने, विकल्प नभएको चिज बन्ने व्यक्ति नै सफल हुने धारणा राखेका थिए । धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिए। थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको सङ्घर्ष अनि सफलताको कथा प्रस्तुत गरेका कटवालले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेका थिए ।

कार्यक्रमलाई अझै बढी रोचक र उत्प्रेरक बनाएका प्रमुख अतिथि योगीले करिब ४५ मिनेट विद्यार्थीलाई अर्थपूर्ण उत्प्रेरणा दिए। उनले आफूले विश्व भ्रमण गरेको भए पनि टेक्सासलाई बढी सम्झने गरेको बताए। आफूले आफूलाई प्रमाणित गर्न नसके सम्म प्रमाणपत्रको थुप्रोले केही फरक नपर्ने भन्दै उनले आजका विद्यार्थीलाई स्वागत गर्न दुनियाँ तयार भएको हुँदा आफू सक्षम बन्नुपर्ने उल्लेख गरे। आफ्नो बाल्यकाल र पहिलो काठमाडौँ यात्राको स्मरण गर्दै आजका विद्यार्थीलाई सकारात्मक सोच राखेर अघि बढे सबैतिर अवसर रहेको बताएका उनले विद्यार्थीलाई संस्कार नभुल्न अनुरोध गरे। आजका विद्यार्थीले म कति खुसी छु?, म कति सकारात्मक छु?, म कति राम्रो व्यवहार गर्छु?, म कस्तो दृष्टिकोण बनाउँछु ? लगायत प्रश्न दैनिक आफैँलाई सोध्ने हो भने सफल हुन सक्ने उनको भनाई थियो। आफ्नो मन्तव्य भर उपस्थित सबैमा ऊर्जाको सञ्चार गराउन उनी सफल भए।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति पोखरेलले आफ्ना विद्यार्थीलाई एसइई सम्मको सफलताको लागि बधाई र आगामी दिनका लागि शुभकामना दिए। टेक्सास छनोट गरेर विद्यार्थीहरूले आफूहरू अब्बल छौँ भनेर प्रमाणित गरिसकेको उल्लेख गरेका उनले विद्यालय जाने उमेर समूहका नौ लाख विद्यार्थी स्कुल बाहिर रहेको अवस्थामा पढ्न पाएको हुँदा ती विद्यार्थी भाग्यमानी भएको टिप्पणी गरे। पोखरेलले कलेज भित्र पालना गर्नुपर्ने नियम, टेक्ससले हालसम्म प्राप्त गरेको सफलता र आगामी योजनाको बारे पनि चर्चा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड