Matra Education आइतबार, साउन १० २०८३

शिक्षकलाई सम्मान छ तर नयाँ युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र मान्दैनौं: अनेरास्ववियु

शिक्षकलाई सम्मान छ तर नयाँ युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र मान्दैनौं: अनेरास्ववियु

  • मात्र एजुकेशन
  • सोमबार, साउन ५ २०८२


काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले नयाँ युवालाई शिक्षण पेसामा आउन नदिने षड्यन्त्र भइरहेको भन्दै त्यो स्वीकार्य नहुने बताएका छन्। सोमबार उनी नेतृत्वको विद्यार्थी संगठन द्वारा राजधानीमा आयोजित शिक्षा पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। संसद्को शिक्षा समितिमा भएको सहमति अनुसार ६०% आन्तरिकको व्यवस्था मान्य नहुने उनले बताए।

“खासगरी हाम्रो संगठनको माग शतप्रतिशत खुल्ला प्रतिस्पर्धा हुनुपर्छ भन्ने हो तर आजसम्म काम गरेका शिक्षकहरूको भूमिकालाई पनि अवमूल्यन गर्न सकिँदैन” उनले भने “त्यसैले उहाँहरूको सम्मानमा २५% आन्तरिक गर्न सकिन्छ भन्ने हाम्रो धारणा रहेको छ। साधारण जनताका छोराछोरी पढ्ने स्कुलमा कम्प्रमाइज गरेर शिक्षक पठाउन खोजियो भने अनेरास्ववियु चुप बस्दैन।”

शिक्षकहरू नै परीक्षा बाट भाग्ने हो भने उनीहरूले कस्ता विद्यार्थी उत्पादन गर्छन् भन्ने प्रश्न उठ्ने भन्दै कडरियाले यदि परीक्षामा जान शिक्षकहरूले असिकार गर्ने हो भने उनीहरू गोल्डेन ह्यान्डसेक लिएर स-सम्मान बिदा हुनुपर्ने उनको भनाई छ।

यसैगरी सार्वजनिक शिक्षाको सबलीकरण बहसमा धेरै सुनिए पनि यसको भित्री तहसम्म जान नसकेका कारण निजी शिक्षाको रफ्तार बढेको उल्लेख गर्दै भुईँ मान्छेहरूलाई पनि शिक्षामा पहुँच पुर्‍याउनुपर्ने विषयमा राज्य गम्भीर हुनुपर्ने उनको धारणा थियो ।

कडरियाले आफू अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएर आएपछि संगठनलाई पालिका स्तरसम्म विस्तार गरेर शिक्षा सुधारका लागि अनुसन्धानमूलक कार्यमा लागेको बताए । उनले यसका लागि नीति तथा अनुसन्धान आयोगको गठन गरिएको र यसले शिक्षामा भएका बेथितिलाई खोज्नुका साथै समाधानको बाटो देखाउने प्रस्ट पारे ।

अनेरास्ववियुका महासचिव दीपक धामीले युवाहरूको शिक्षक बन्ने चाहानामा राज्यले बन्देज लगाउन नहुने बताउँदै विद्यार्थीका अधिकारका लागि अनेरास्ववियु सधैँ झैँ अग्र मोर्चामा रहेर लड्न तयार रहेको बताए। उनले शिक्षाको सबलीकरण र सार्वजनिक शिक्षा विकासको एजेन्डा लिएर अनेरास्ववियु कक्षासम्म पुग्ने उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड