भक्तपुर – ११३ औं भानु जयन्तीको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आइतबार सम्पन्न भएको छ। प्रतियोगितामा चार सामुदायिक र चार निजी गरी आठ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रम भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा गरिएको हो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने र सहभागिता जनाउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। उनले साहित्यिक रचनाहरू सरल र सहज हुनुपर्ने उल्लेख गर्दै जनताको भाषा बोल्ने ‘जनताको साहित्य’ आजको आवश्यकता भएको बताए। विद्यार्थीहरूले साहित्यकारहरूको जीवनी पढ्नुपर्नेमा जोड दिँदै उनले एकजना साहित्यकारको विचार बन्दुकको गोलीभन्दा शक्तिशाली हुने धारणा पनि राखे।
प्रजापतिले साहित्यका हरेक शब्दमा समाजसेवा, देशप्रेम र परिवर्तनको चेतना हुनुपर्ने बताए। कुनै पनि क्षेत्रमा सफलता पाउन सम्बन्धित विषयमा राम्रो ज्ञान लिनुपर्नेमा जोड दिँदै उनले कल्पनाशीलता र समय व्यवस्थापनले विद्यार्थीलाई सफल बनाउने धारणा राखे। साथै विद्यार्थीहरूलाई समाजको प्रेरणादायी पात्र बन्न आग्रह गरे।
कार्यक्रमका सभापति वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले साहित्यतर्फ विद्यार्थीलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै अतिरिक्त गतिविधिमा पनि सक्रिय बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेका प्रतिभा उजागर गर्न मद्दत गर्ने बताए।
निर्णायकद्वय सूर्यराम श्रेष्ठ र आशाकुमार चिकंबन्जारले विद्यार्थीहरूको कविता सुनेर आफूहरू प्रभावित भएको जनाए। प्रतियोगिताले उत्कृष्ट सिर्जनाहरू जन्मिन सघाएको बताउँदै उनीहरूले साहित्यकार बन्न अध्ययन गर्नुपर्ने र विषयवस्तुमा राम्रो बुझाइ हुनु जरुरी भएको बताए। सत्यको पक्षमा आवाज उठाउन साहित्य प्रेरक माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो।
वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले सहभागी विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद दिँदै वडा नं. १ ले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै जाने बताए।
प्रतियोगितामा विभिन्न तहअनुसार छुट्टाछुट्टै विधामा पुरस्कार प्रदान गरिएको थियो। कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि पाठ्यपुस्तकमा आधारित कविता वाचन गरिएको थियो। यस समूहको छात्रतर्फ ज्ञानविजय आवासीय विद्यालयका विपन खत्री प्रथम, गणेश माविका निकेश भुजेल द्वितीय र सन्तति आवासीय विद्यालयका दिपांशु श्रेष्ठ तृतीय भए। छात्रातर्फ सूर्यविनायक स्कूलकी बिहानी तामाङ प्रथम, सनसाइन स्कूलकी पल्लवी कार्की द्वितीय र सेरफ वर्ल्ड स्कूलकी विविध भट्टराई तृतीय भए।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि “सांस्कृतिक नगर भक्तपुर” विषयमा कविता लेखन तथा वाचन गरिएको थियो। यस तहमा छात्रतर्फ गणेश माविका असरव मुहवत प्रथम, सन्तति आविकाका संसार अधिकारी द्वितीय र ज्ञानविजयका जीवन चौधरी तृतीय भए। छात्रातर्फ ज्ञानविजय स्कूलकी जस्मिन क्षेत्री प्रथम, सन्तति आविकाकी एलिसा गौतम द्वितीय र सूर्यविनायक स्कूलकी विनिसा भट्टराई तृतीय स्थानमा रहे।
माध्यमिक तह (कक्षा ९ र १०) मा ‘प्रगतिशील र देशभक्तिपूर्ण’ विषयमा कविता लेखन तथा वाचन गरिएको थियो। यस समूहमा गणेश माविका प्रज्ज्वल तामाङ प्रथम र सोही विद्यालयकी स्मृति मानन्धर द्वितीय बने।
