Matra Education आइतबार, साउन १० २०८३

रिलायन्स पाँचौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिताका विजेताहरू पुरस्कृत

रिलायन्स पाँचौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिताका विजेताहरू पुरस्कृत

  • मात्र एजुकेशन
  • मंगलबार, असार २४ २०८२


काठमाडौँ- सरस्वतीनगर चाबहिलस्थित रिलायन्स कलेजले आयोजना गरेको पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ। कलेजको सभाहलमा सोमबार आयोजित विशेष समारोह मार्फत उनीहरूलाई नगद पुरस्कार तथा छात्रवृत्तिले पुरस्कृत गरिएको हो। ‘मोबाइल प्रविधिको प्रयोग : सुविधा की समस्या?’ विषयमा आधारित प्रतियोगितामा २९ जिल्लाका ५०३ विद्यार्थी सहभागी भएका थिए। त्यसमध्ये प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी तथा सान्त्वना पुरस्कार पाउन सफल १० जना विद्यार्थी पुरस्कृत भएका हुन्।

कार्यक्रमको सञ्चालन रिलायन्स कलेजका इसिए/सिसिए विभाग संयोजक गोविन्द ढकालले गरेका थिए। सधैँझैँ दुई मिनेटको ध्यानबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य इसिए/सिसिए विभाग सदस्य गजेन्द्र पौडेलले राखे। कार्यक्रममा विभिन्न विजयी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यार्थी, अभिभावक, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्यहरू तथा अन्य विद्यालयका प्रमुख तथा रिलायन्सका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पुरस्कार ग्रहण गर्दै प्रथम स्थान प्राप्त गरेकी सृष्टि दाहालले आफूलाई आत्मविश्वासी बनाएको भन्दै आयोजक विद्यालय र अवसरका लागि आफ्नो विद्यालयप्रति आभार व्यक्त गरिन्। “यस्ता कार्यक्रमले व्यक्तित्व विकासमा सघाउँछ र हामीलाई अघि बढ्ने प्रेरणा दिन्छ,” उनले भनिन्।

उनको विद्यालय बागमती बोर्डिङ स्कुलका प्रधानाध्यापक श्याम दत्त अधिकारीले सृष्टिको सफलताले जिपिएभन्दा क्षमता महत्त्वपूर्ण हुने कुरा पुनः पुष्टि भएको बताए। उनले भने, “सृष्टि जहिले पनि हरेक क्षेत्रमा अग्रणी थिइन्। जब उनको अपेक्षाभन्दा कम जिपिए आयो, मैले भनेको थिएँ— जिपिएभन्दा पनि तिमीभित्रको क्षमता ठुलो हो। आज त्यो प्रमाणित भयो।”

कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले विद्यार्थीकै समग्र विकासका लागि कलेजले अतिरिक्त क्रियाकलापहरूमा पनि उच्च प्राथमिकता दिएको बताए। “हामीले पढाइ मात्र होइन, सीप र प्रतिभा विकासमा पनि जोड दिएका छौँ। विभिन्न सफल व्यक्तिहरूको उदाहरण दिएर विद्यार्थीलाई प्रेरित गर्ने प्रयास गरिरहेका छौँ,” उनले उल्लेख गरे।

कार्यक्रमको समापन गर्दै कलेजका प्राचार्य रविन्द्र जङ्ग थापाले प्रतियोगिता कोभिड कालको निष्क्रियता तोड्दै सुरु गरिएको स्मरण गरे। उनले भने, “यो प्रतियोगिता कोभिड जस्तो निष्क्रिय समयमा पनि सक्रिय बन्नका लागि सुरु गरिएको थियो। हामीले त्यो समयमा पनि पढाई भन्दा अझै बढी अतिरिक्त क्रियाकलापहरू भर्चुअल माध्यम बाट गर्न सक्यौँ ।” रिलायन्सले गर्ने कार्यक्रमहरू बारे जानकारी दिँदै उनले थपे, “रिलायन्सले हरेक वर्ष चार वटा राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्छ। पढाइका अतिरिक्त इसिए–सिसिए कार्यक्रम मार्फत विद्यार्थीमा बहु-आयामिक विकासको प्रयास हामीले गरिरहेका छौँ।” विद्यार्थीको क्षमता विकास तथा प्रोत्साहनकै लागि निबन्ध लेखन जस्ता कार्यक्रमहरूमा नगदसँगै उत्कृष्ट छात्रवृत्तिहरू प्रदान गर्दै आएको उनले जानकारी दिए। बुक रिभ्युजस्ता कार्यक्रमको प्रभावकारिताबारे समेत चर्चा गरेका उनले रिलायन्समा हुने गतिविधिहरू समय सान्दर्भिक र विद्यार्थीमैत्री हुनेमा जोड दिए।

थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड