Matra Education आइतबार, साउन १० २०८३

सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई रिलायन्सको सम्मान

सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई रिलायन्सको सम्मान

  • मात्र एजुकेशन
  • मंगलबार, असार २४ २०८२


काठमाडौँ – कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिवार चाबहिलस्थित स्मार्ट प्यालेसको हलमा एक भव्य कार्यक्रमका बिच विद्यालयले उक्त सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

विद्यालयबाट यस वर्ष एसइई परीक्षामा सहभागी भएका १०२ जना विद्यार्थीहरूमध्ये १९ जनाले ४.०० जिपिए प्राप्त गरी कीर्तिमानी सफलता हासिल गरेका छन् भने बाँकी सबै विद्यार्थीले पनि प्रशंसनीय नतिजा ल्याएका छन्।

रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी तथा विशेष अतिथिका रूपमा उपप्रमुख अनिता लामा सहभागी रहेका थिए।कार्यक्रममा अतिथिका रूपमा विभिन्न वडाका वडाध्यक्षहरू, समाजसेवीहरू, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, अभिभावकहरू आदि रहँदा शिक्षक, सञ्चालक समिति सदस्यहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ २ मिनेट ध्यानबाट गरिनुका साथै गायत्री मन्त्र र वैदिक मन्त्र पाठले वातावरण आध्यात्मिक र संस्कारयुक्त बनाइएको थियो। संस्कृति विभाग प्रमुख दामोदर निरौलाले ध्यान र संस्कृतिको महत्वमाथि प्रकाश पारेका थिए।

विद्यालयका प्रधानाध्यापक खेमलाल भुसालले स्वागत मन्तव्य राख्दै विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासबाट आएको नतिजालाई विशेष उपलब्धि भएको बताएका थिए। उनले विद्यालयले केवल ज्ञान मात्र नभई जीवन उपयोगी सीप र संस्कारमा पनि जोड दिँदै आएको स्पष्ट पारे।

कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउने १९ जना तथा एसइई ब्याच २०८१ का सहभागी विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै, विद्यालयका शिक्षक/शिक्षिका, विभिन्न विभागका प्रमुख तथा विद्यालयको समृद्धिमा योगदान दिने कर्मचारीहरूलाई समेत सम्मान गरियो।

विद्यार्थीका तर्फबाट बोल्दै सर्वोत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीले विद्यालयको संस्कार, शिक्षाशैली र प्रेरणाका कारण आफूहरू सफल भएको भन्दै धन्यवाद दिए। उनीहरूले आफ्ना शिक्षकहरू र विद्यालय व्यवस्थापन प्रति विशेष आभार प्रकट गरे।

कार्यक्रममा बोलेका अन्य अतिथि वक्ताहरूले कीर्तिमानी नतिजाका लागि बधाई दिँदै आगामी दिनका लागि शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मिठाराम अधिकारीले रिलायन्सले दिएको गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै विद्यालयको प्रतिबद्धता, अनुशासन र संस्कारको विशेष प्रशंसा गरे। उनले शिक्षाको उद्देश्य केवल परीक्षा उत्तीर्ण गर्नु मात्र नभई उत्कृष्ट नागरिक निर्माण गर्नु भएको बताए। विद्यार्थीहरूलाई आफ्नो कर्म र कर्तव्यप्रति इमानदार हुन सुझाव दिँदै आगामी यात्रामा सफलताको शुभकामना दिएका थिए।

कार्यक्रमका सभापति थापाले रिलायन्सको १३ वर्षको निरन्तर लगानी र परिश्रमले आजको सफलता सम्भव भएको बताए। आफूहरू बिदाइ नभई सुन्दर भविष्यको स्वागत गरिरहेको उल्लेख गरेका थापाले कार्यक्रमले विद्यार्थीको आगामी यात्रामा प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले एसइईको नतिजा रिलायन्सको गौरव मात्र नभई सम्पूर्ण समुदायको गर्वको विषय भएको धारणा राखे।

रिलायन्स इन्टरनेसनल एकेडेमीले यस वर्षको एसइई सफलताले नयाँ प्रेरणा दिएको र आगामी वर्षहरूमा अझ उत्कृष्ट बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड