काठमाडौँ- सरस्वतीनगर चाबहिलस्थित रिलायन्स कलेजले आयोजना गरेको पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिताको नतिजा हालै सार्वजनिक गरिएको छ।
“मोबाइल प्रविधिको प्रयोग : सुविधाको समस्या ?” विषयमा आधारित सो प्रतियोगिता जेठ १ गतेदेखि असार १० गतेसम्म सञ्चालन गरिएको थियो। कुल ५०३ ओटा निबन्ध देशभरिबाट प्राप्त भएकोमा काठमाडौँस्थित बागमती बोर्डिङ स्कुलकी छात्रा सृष्टि दाहाल प्रथम भएकी छन्।
त्यस्तै, काठमाडौँकै चार्ल्स डार्विन माविकी सफलता खड्का दोस्रो स्थानमा आउन सफल भइन् भने कास्की जिल्लाको प्रगति सेकेन्डरी स्कुलका निर्णय गुरुङ तेस्रो भएका छन्।
प्रतियोगितामा उत्कृष्ट ३ सहित थप १० जना विद्यार्थीले सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्। विजयी १३ जनालाई नगद पुरस्कार तथा छात्रवृत्ति विशेष समारोह मार्फत प्रदान गरिने कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले बताए ।
यस प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका २९ जिल्लाका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सहभागी जिल्लाहरूमा बझाङ, डडेलधुरा, बाजुरा, बर्दिया, दाङ, पाल्पा, स्याङ्जा, कास्की, गुल्मी, चितवन, धादिङ, नुवाकोट, मकवानपुर, तनहुँ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रामेछाप, भोजपुर, पर्सा, बारा, रौतहट, धनुषा, सुनसरी, मोरङ, ओखलढुङ्गा र इलाम रहेका छन्।
विद्यार्थीहरूले नेपाली वा अङ्ग्रेजी भाषामा ३०० शब्द ननाघ्ने गरी निबन्ध तयार पारेर कलेजको आधिकारिक इमेल वा कार्यालयमा प्रत्यक्ष/मार्फत बुझाउने व्यवस्था गरिएको थियो।
कलेजका प्राचार्य थापाका अनुसार, देशभरिका युवामा अभिव्यक्ति र विश्लेषण क्षमताको विकास गर्दै समसामयिक विषयमा सोच्न अभिप्रेरित गर्ने उद्देश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरिँदै आएको छ।
अन्तिम नतिजा हेर्नुहोस्:
