काठमाडौँ- कक्षा ११ र १२ मा छात्रवृत्तिको कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले अनलाइन आवेदन प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि महानगर अन्तर्गतका संस्थाहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्तिका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट छनोट गरिने महानगरले जनाएको छ।
आवेदन प्रक्रिया २०८२ असार १८ गतेबाट सुरु भई असार २९ गते राति ११:४५ बजेसम्म खुला रहनेछ। परीक्षा भने २०८२ साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। यो परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित १०० पूर्णाङ्कको बहुवैकल्पिक शैलीमा हुनेछ।
आवेदन यो वेबसाइटमा गएर अनलाइनमार्फत दिन सकिन्छ। विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण भने पछि सार्वजनिक हुने सूचनामा उल्लेख छ। थप जानकारीका लागि काठमाडौँ महानगरपालिकाको वेबसाइट हेर्न महानगरपालिका शिक्षा विभागको अनुरोध छ।