काठमाडौँ- चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास करियर फेयर २०२५’ सम्पन्न गरेको छ। बिहीबार कलेजको मित्रपार्क ब्लकमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई उनीहरूको करियरको सुरुवाती कामका लागि विभिन्न प्रसिद्ध कम्पनी सँग जोड्दै कलेजले करियर फेयर सम्पन्न गरेको हो।
विद्यार्थीलाई पढाउने मात्रै नभई उनीहरूलाई योग्य, दक्ष र क्षमतावान् बनाई विश्व बजारमा बिक्ने जनशक्ति बनाउनुपर्छ भन्ने मान्यता राख्ने टेक्सास कलेजले सोही उद्देश्य पूर्तिका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ। कलेजले विगत देखि नै गर्दै आएको यो कार्यक्रमको सातौँ संस्करण बिहीबार सम्पन्न भएको हो।
झन्डै ७० ओटा प्रतिष्ठित कम्पनीहरूले सहभागिता जनाएको यो कार्यक्रम रोजगार र इन्टर्नसिपको अवसरलाई सहज बनाउन सफल भएको थियो। फेयरमा कम्पनीहरूले आफ्ना इन्टर्नसिप तथा जब अफरसहित विभिन्न जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रमका संयोजक तथा व्यवस्थापन विभाग प्रमुख युवराज सापकोटाका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई नेपालमै अवसरको सम्भावना देखाउने काम गरिरहेका छन्। मात्र एजुकेसन सँगको संवादमा उनले भने, “विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्, तर यदि कलेजहरूले यस्ता फेयरहरू नियमित रूपमा आयोजना गर्न सके भने ‘नेपालमा अवसर छैन’ भन्ने धारणा कमजोर पार्न सकिन्छ।”
फेयरमा सहभागी विद्यार्थीहरूले विभिन्न कम्पनीहरूसँग अन्तर्वार्ता दिई रोजगारी र इन्टर्नसिपको अवसर प्राप्त गरेका छन्। व्यवस्थापन तथा सूचना प्रविधि (आइटी) क्षेत्रमा केन्द्रित फेयर विशेष गरी स्नातक तहको अन्तिम सेमेस्टर र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।
कलेजले सिनियर सेमेस्टरका विद्यार्थीहरूलाई पहिले नै अन्तर्वार्ताका लागि तयारी गराएकाले प्रत्यक्ष प्लेसमेन्टको सम्भावना बढेको बताइएको छ। करियर फेयरमार्फत विद्यार्थीहरू र कम्पनीहरूबिच प्रत्यक्ष अन्तर्क्रिया हुने वातावरण बनेको आयोजक पक्षको भनाइ छ।
बिहान ९ बजेबाट सुरु भएको फेयरमा ५ हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए। सहभागी कम्पनीहरूले आगामी दिनमा टेक्सासका विद्यार्थीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
फेयर पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले कलेजले आफ्ना विद्यार्थीहरूलाई सुनौलो भविष्यको सुरुवात गर्ने उपयुक्त मौका दिएको बताए। उनले फेयरमा सहभागी हुन आएका सबै कम्पनीहरू र विद्यार्थीहरूलाई धन्यवाद दिँदै कार्यक्रम विगतका वर्षहरूमा भन्दा अझै बढी प्रभावकारी र उपयोगी भएको बताए।
