Matra Education आइतबार, साउन १० २०८३

टेक्सास कलेजद्वारा आयोजित ई–स्पोर्ट्स कार्निभल सुरु, ५०० भन्दा बढी विद्यार्थी सहभागी

टेक्सास कलेजद्वारा आयोजित ई–स्पोर्ट्स कार्निभल सुरु, ५०० भन्दा बढी विद्यार्थी सहभागी

  • मात्र एजुकेशन
  • सोमबार, असार ९ २०८२


काठमाडौँ- चाबहिलस्थित टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा आजदेखि ई–स्पोर्ट्स कार्निभल सुरु भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा सकेका विद्यार्थीहरूलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रममा देशभरबाट ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

एक हप्ता अघिदेखि नै दर्ता खुलाइएको यस प्रतियोगितामा सहभागीहरूले फिफा, भेलोरेन्ट, फ्रि-फायर, पब्जी, ई–फुटबल र मोबाइल लिजेन्ड गरी कुल ६ वटा लोकप्रिय मोबाइल खेलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। विजेताहरूलाई नगद पुरस्कारसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कलेजले जनाएको छ।

खेल प्रतिस्पर्धाका साथै कार्यक्रम स्थलमा टेक्सास कलेजका विद्यार्थीहरूले तयार पारेका सूचना प्रविधि तथा रोबोटिक्स सँग सम्बन्धित विभिन्न परियोजनाहरूको प्रदर्शनी पनि गरिएको छ।

प्रतियोगिता बारे मात्र एजुकेसन सँग कुरा गर्दै कार्यक्रमका मुख्य व्यवस्थापक तथा टेक्सास कलेजका बिजनेस डेभलपमेन्ट डाइरेक्टर नारायण पोखरेलले एसइई र कक्षा १२ सकेका विद्यार्थीहरूलाई उनीहरूको रुचि र क्षमताअनुसार रचनात्मक र प्रविधिमैत्री गतिविधिमा संलग्न गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए। “आजको युग प्रविधिको हो र इ-स्पोर्ट्स केवल रमाइलोको माध्यम मात्र होइन, यसले विद्यार्थीहरूमा निर्णय क्षमता, टोलीमा काम गर्ने सीप, दबाबमा प्रदर्शन गर्न सक्ने क्षमता जस्ता कुराहरू विकास गर्न मद्दत गर्छ। अन्तर्राष्ट्रिय स्तरमा त इ-स्पोर्ट्स प्रोफेसनल करिअरको रूपमा स्थापित हुँदै गएको छ।” उनले भने

यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने, आत्मविश्वास बढाउने र भविष्यमा टेक र गेमिङ क्षेत्रतर्फ आकर्षित बनाउने भन्दै उनले अगाडी थपे, “टेक्सासमा हामी विद्यार्थीको प्रतिभा प्रोत्साहित गर्न यस्ता नयाँ खालका अवसरहरू सिर्जना गर्न सधैँ तयार छौँ।”

कार्यक्रम अबको केही दिनसम्म सञ्चालन हुनेछ। आयोजकले विद्यार्थीको सहभागिता र उत्साहप्रति सन्तोष व्यक्त गर्दै कार्निभललाई हरेक वर्ष अझ व्यापक बनाउँदै लैजाने योजना रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड