काठमाडौँ- नेपाल स्काउट शुद्धीकरण अभियानले स्काउट संस्थाभित्रको विकृति र विसङ्गति विरुद्ध उठाएको आवाजलाई दबाउन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। अभियानले निलम्बित स्काउट निर्देशक रामप्रसाद भट्टराईलाई पुनः स्थापित गर्न युवा तथा खेलकुद मन्त्रालय नै सक्रिय बनेको आरोप लगाएको छ।
मन्त्रालयको पहलमा गठित छानबिन समितिमा अभियानतर्फबाट दुई जना प्रतिनिधि पनि सदस्यका रूपमा सहभागी थिए। गत वैशाख ५ गतेदेखि सुरु भएको छानबिनको म्याद १२ दिन तोकिएको थियो। तर, स्काउट संस्थाले छानबिन समिति र मन्त्रालयसँग सहकार्य गर्नुपर्ने सट्टा समितिको अधिकार क्षेत्र बाहिर पुग्ने पत्राचार गर्दै छानबिनलाई प्रभावहीन बनाउन खोजेको अभियानको दाबी छ।
अभियानका अनुसार, भट्टराईमाथि लागेका आरोप गम्भीर थिए र उनी कुनै हालतमा सफाइ दिन योग्य थिएनन्। तर मन्त्रालयले अभियानका प्रतिनिधिसँग सल्लाह नगरी दबाबमा छानबिन समितिबाट प्रतिवेदन बुझाएको छ। सोही आरोपित निर्देशकलाई पुनः कार्यालयमा फर्काई ४५ दिनको बिदा दिएर विदेश भ्रमणमा पठाइएको समेत खुलाइएको छ।
शुद्धीकरण अभियानको तर्फबाट छानबिन समितिमा रहेका सदस्यहरूले छानबिनको वास्तविकता र निलम्बित निर्देशकमाथिका आरोपहरू निराधार नरहेको पुष्टि गर्दै छुट दिन कुनै ठाउँ नभएको प्रतिवेदन तयार पारी अभियानमा बुझाएका छन्।
वर्तमान प्रमुख स्काउट स्वयं आरोपित निर्देशकको लागेको र उनको इशारामै संस्थाको गतिविधि सञ्चालन भइरहेको अभियानको दाबी छ। यस्तो अवस्थामा स्काउट संस्था भित्रबाट न्याय पाउने आशा नगरी अब वैकल्पिक मार्ग अपनाइने चेतावनी समेत अभियानले दिएको छ।
शुद्धीकरण अभियानले प्रतिवेदन गोप्य नराखिने जनाउँदै आम स्काउट समुदायको भावना सम्बोधन गर्न प्रतिवेदन सार्वजनिक गरिएको घोषणा पनि गरेको छ।