काठमाडौँ- ललितपुर महानगरपालिकाले आगामी शैक्षिक सत्रलाई “शैक्षिक उन्नयन वर्ष” घोषणा गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको खाका सार्वजनिक गरेको छ। नगर प्रमुख चिरिबाबु महर्जनले शुक्रवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सिकाइ सुधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम नवीकरणदेखि डिजिटल प्रविधिको उपयोगसम्मका महत्त्वपूर्ण योजनाहरू समेटिएका छन्।
नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार शिक्षामा सुधार ल्याउन अभिभावकलाई सक्रिय साझेदार बनाउने लक्ष्यसहित ‘अभिभावक शिक्षा कार्यक्रम’लाई अभियानकै रूपमा अघि बढाइनेछ। विद्यालय तहमा विद्यार्थीको सिकाइ परिणाम ५ प्रतिशतले सुधार गर्ने स्पष्ट लक्ष्य राखिएको छ।
महानगरभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षक र विद्यार्थीको सङ्ख्या हेरेर दरबन्दी मिलान गरिनेछ। आवश्यक परेमा विषयगत शिक्षक थप्ने, तह घटाउने वा विद्यालय एकीकरणको समेत व्यवस्था गरिनेछ। शिक्षक वा कर्मचारीमाथि उजुरी परेमा छानबिन गरेर दोषी देखिएमा अन्यत्र व्यवस्थापन गरिने जनाइएको छ।
बालविकास केन्द्र र शिशु स्याहार केन्द्रहरूको नक्साङ्कन गरी उनीहरूलाई अझ व्यवस्थित बनाइनेछ। पाँच वटा शिशु स्याहार केन्द्रहरू नमुनाका रूपमा सञ्चालन गरिनेछन्।
हरित विद्यालय कार्यक्रमलाई निरन्तरता दिँदै उत्कृष्ट काम गर्ने तीन विद्यालयलाई नगदसहित सम्मान गरिनेछ। हरेक शुक्रवार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप र सहक्रियात्मक कार्यक्रमहरूलाई पनि महानगर स्तरीय प्रतिस्पर्धासम्म लैजाने योजना छ।
खेलकुद, संगीत, नृत्य जस्ता क्षेत्रमा विद्यार्थीलाई प्रशिक्षण दिने व्यवस्था मिलाइनेछ। रनिङ शिल्ड लगायतका प्रतियोगिताहरूलाई अझ प्रभावकारी बनाइनेछ।
शिक्षालयहरूलाई स्थानीय सम्पदा संरक्षणमा सक्रिय बनाउँदै “एक विद्यालय, एक सम्पदा” कार्यक्रम लागू गरिनेछ। संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउने विद्यालयलाई विशेष सम्मान दिइनेछ।
महानगरले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्दै छ। अब विद्यालयहरूको अनुगमन डिजिटल प्रणालीबाट गरिनेछ। माध्यमिक तहका विद्यार्थीका लागि ‘माई सेकेन्ड टिचर’ प्लेटफर्ममार्फत शिक्षण सामग्री उपलब्ध गराइनेछ।
विद्यालयमा पाठ्यपुस्तक मात्रै होइन, मूल्य शिक्षा, संस्कृत भाषा, परियत्ति शिक्षा र नैतिक शिक्षाको पनि व्यवस्था गरिनेछ। नेपाल भाषा कक्षा ५ सम्म पढाइने र त्यसका लागि आवश्यक शिक्षकलाई निरन्तरता दिइनेछ।
विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहयोगीहरूलाई दिइँदै आएको अतिरिक्त पारिश्रमिक पनि यथावत् राखिनेछ। साथै, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि वृत्ति मार्गदर्शन कार्यक्रम लागू गरिनेछ।
सामुदायिक सिकाइ केन्द्रहरूलाई थप सशक्त बनाउँदै २०८५ सालसम्म प्रत्येक नागरिकले आधारभूत शिक्षा पाउन सक्ने व्यवस्था मिलाउने लक्ष्य लिइएको छ। साक्षरता सर्वेक्षणसहित अनौपचारिक तथा निरन्तर शिक्षा कार्यक्रमहरू सञ्चालन गरिनेछ।
विद्यालयहरूको परीक्षा प्रणालीलाई थप मर्यादित बनाउन महानगर स्तरमै कक्षा ५ को अन्तिम मूल्याङ्कन हुने व्यवस्था गरिनेछ। एसइई तयारीका लागि बिदाको समयमा समेत अतिरिक्त कक्षा सञ्चालन गरिनेछ।
संस्थागत विद्यालयहरूले प्रदान गर्ने छात्रवृत्तिलाई थप पारदर्शी, विश्वसनीय र अनुमानयोग्य बनाउने योजना छ। त्यस्तै, संस्थागत विद्यालयहरूलाई सामाजिक उत्तरदायित्वमा पनि स्पष्ट भूमिका दिलाउने कार्यविधि बन्नेछ।
सामुदायिक विद्यालयमा ‘पढ्दै, रमाउँदै, कमाउँदै’ कार्यक्रम सञ्चालन हुनेछ। शिक्षक, अभिभावक र वडा कार्यालयबिचको सहकार्यमा स्थानीय विद्यार्थीलाई सामुदायिक विद्यालयमै भर्ना गराउने अभियान सञ्चालन गरिनेछ।
यस पटक ललितपुर महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी समग्र विकास, प्रविधि प्रयोग, संस्कार शिक्षा र सामाजिक जिम्मेवारीलाई जोड दिन खोजेको स्पष्ट देखिन्छ।