Matra Education आइतबार, साउन १० २०८३

अनेरास्ववियुमा यसकारण सचिव पदमा रेखा न्यौपानेको उम्मेदवारी

अनेरास्ववियुमा यसकारण सचिव पदमा रेखा न्यौपानेको उम्मेदवारी

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ २८ २०८२


काठमाडौँ – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज औपचारिक निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। महाधिवेशनको लागि उम्मेदवारी दर्ता प्रक्रिया हिजो राति अबेरसम्म जारी रह्यो। विभिन्न पदका लागि दर्जनौँ उम्मेदवारी परेका छन् भने प्रतिस्पर्धीहरूको सङ्ख्या उल्लेख्य देखिएको छ।

यसै सन्दर्भमा, सचिव पदका लागि रेखा न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। विगत लामो समयदेखि अनेरास्ववियुमा सक्रिय र विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी न्यौपानेले आफ्नो उम्मेदवारी मार्फत संगठनलाई विचार, नीति र समर्पणमा आधारित नेतृत्व दिन चाहेको बताएकी छन्।

उनी भन्छिन्, “विप्लवले होइन, विचारले समाज परिवर्तन हुन्छ भन्ने अडान हो। म संगठन, संघर्ष र समर्पणको यात्रामा समर्पित छु।” उम्मेदवारी घोषणामार्फत उनले अनेरास्ववियुलाई विचारशील र संगठनात्मक रूपमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

“हिजोको आन्दोलनमा म थिएँ, आज पनि छु । भोलिको नेतृत्व तपाईँको साथमा हुनेछ, तर आज मत तपाईँले दिनु पर्नेछ,” भन्दै न्यौपानेले प्रतिनिधिहरूलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेकी छन्।

उनले प्रतिनिधिहरूको विश्वास र समर्थनका साथ संगठनलाई अझ सुदृढ, विचारशील र संगठनात्मक रूपमा सबल बनाउने प्रतिबद्धता जनाएकी छन्। “सचिव पदको जिम्मेवारी पाउँदा म विचार र संगठनलाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्नेछु,” उनले उल्लेख गरेकी छन्।

अनेरास्ववियुको यो महाधिवेशनले संगठनको नयाँ नेतृत्व चुन्ने मात्र होइन, संगठनभित्रको विचार, उमेर, अनुभव र रणनीतिक प्राथमिकताको बहसलाई समेत उजागर गरेको छ। आज हुने निर्वाचनबाट नयाँ नेतृत्वको टुङ्गो लाग्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड