Matra Education आइतबार, साउन १० २०८३

पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्दै रिलायन्स कलेज

पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्दै रिलायन्स कलेज

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख ३० २०८२


काठमाडौँ– सरस्वतीनगर चाबहिलस्थित रिलायन्स कलेजले पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको यस पटकको शीर्षक “मोबाइल प्रविधिको प्रयोग: सुविधा कि समस्या?” तोकिएको छ। विद्यार्थीहरूले जेठ १ गतेदेखि असार १० गतेसम्म निबन्ध पठाउन सक्नेछन्।

कलेजका प्रधानाध्यापक रविन्द्र जङ्ग थापाका अनुसार निबन्ध नेपाली वा अङ्ग्रेजी भाषा मध्ये कुनै एक भाषामा लेखी कलेजले दिएको इमेल ठेगाना (eca.cca@ria.edu.np) मा पठाउन सकिनेछ वा कलेजमा भौतिक रूपमा बुझाउन पनि सकिनेछ। देशभरका एसइई दिएका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट १३ जनालाई नगद, प्लस टु अध्ययनका लागि ठुलो मात्रामा छात्रवृत्ति, प्रमाण पत्र तथा अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले जानकारी दिए। उनका अनुसार, प्रथम हुने एक जनालाई रु. १५,००० नगद, कक्षा ११ को भर्नामा १००% छुट र १२ महिनाको मासिक शुल्क छुट दिइनेछ। द्वितीय हुने एक जनालाई रु. १०,००० नगद, कक्षा ११ को भर्नामा १००% छुट र ९ महिनाको मासिक शुल्क छुट गरिनेछ। तृतीय हुने एक जनालाई रु. ६,००० नगद, कक्षा ११ को भर्नामा १००% छुट र ६ महिनाको मासिक शुल्क छुट प्रदान गरिनेछ। साथै सान्त्वना प्राप्त गर्ने १० जनालाई रु. २,५०० नगद, कक्षा ११ को भर्नामा ५०% छुट र २ महिनाको मासिक शुल्क छुट दिइनेछ। सबै १३ जना विजयी विद्यार्थीहरूलाई प्रमाण पत्र तथा अन्य पुरस्कारहरूमार्फत सम्मान गरिनेछ।

सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसइई दिएर बसेका विद्यार्थीहरूको लेखन तथा सृजनात्मक प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको अतिरिक्त क्रियाकलाप विभाग संयोजक गोविन्द ढकालले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको नतिजा २०८२ साल असार २० गते रिलायन्स कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ र विजेता विद्यार्थीहरूलाई कलेजमा आयोजना गरिने भव्य कार्यक्रमबिच पुरस्कार वितरण गरिनेछ। विजेताले पुरस्कार प्राप्त गर्दा अनिवार्य रूपमा एसइईको प्रवेश पत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।

यसअघि सम्पन्न चार संस्करणमध्ये पहिलो संस्करणको विजेता मन्टेश्वरी सेकेण्डरी स्कुल इलामकी आस्था ढकाल थिइन् भने दोस्रो संस्करणको विजेता भुवनेश्वर सेकेन्डरी स्कुल ओखलढुङ्गाकी सामना खतिवडा थिइन्। तेस्रो संस्करणमा लालीगुराँस इङ्लिस सेकेन्डरी स्कुल ओखलढुङ्गाका रोहन खतिवडा विजेता बनेका थिए। गत वर्षको चौथो संस्करणमा पनि सोही स्कुलका युजन कटुवाल विजेता रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड