काठमाडौं- नेपालका युवा सामाजिक अभियन्ता तथा नेतृत्वकर्ता राजन श्रेष्ठलाई विश्वप्रसिद्ध युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा सन् २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहित प्रतिनिधिको रूपमा चयन गरिएको छ।
ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजित उक्त कार्यक्रमले विश्वका उद्यमी, नेतृत्वकर्ता तथा पेशागत विज्ञहरूलाई एकै स्थानमा ल्याएर नेतृत्व, रणनीति, संगठन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा सहभागिताका लागि श्रेष्ठलाई आयोजक संस्थाले उनको क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरूका आधारमा छनोट गरिएको जानकारी दिएको छ। कार्यक्रम अवधिभर सहभागीहरूले कार्यशाला, प्रशिक्षण सत्र र नेटवर्किङ अवसर मार्फत ज्ञान तथा अनुभव आदानप्रदान गर्नेछन्।
प्रतिनिधिका रूपमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै सहभागिता पश्चात भिडियो तथा लिखित प्रतिवेदन पेश गर्नुपर्नेछ। साथै, उनले प्राप्त ज्ञानलाई आफ्ना परियोजना वा नेतृत्व क्रियाकलापहरूमा प्रयोग गरी त्यसको प्रभावसम्बन्धी विवरण अभिलेख राख्नुपर्नेछ।
श्रेष्ठ चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजका प्रधानाध्यापक हुन्।