काठमाडौँ- नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा शिक्षक आन्दोलन जारी रहेका बेला स्थानीय तहहरूले विद्यालय खोलेर पठन पाठन गराउन शिक्षकहरू माथि दबाब बढाएका छन्। विभिन्न स्थानीय निकायले सूचना निकालेरै विद्यालय अब पनि बन्द रहे कारबाही हुने चेतावनी दिइरहेका बेला सोमबार साँझ पोखरा र ललितपुर महानगरले पनि यस्तै आशयको सूचना निकालेका छन्।
ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरूले २०८२ वैशाख १६ गते देखि नियमित पठनपाठन र विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ। सूचना अनुसार, विद्यालय सञ्चालन सम्बन्धी सर्वोच्च अदालतबाट जारी आदेश र शैक्षिक कार्यतालिका कार्यान्वयन गर्नुपर्ने बाध्यताका आधारमा यो निर्णय गरिएको हो। विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राख्दै पठनपाठन नियमित गरिनुपर्ने आवश्यकता महानगरले देखेको हो।
त्यस्तै पोखरा महानगरपालिकाले पनि नगर शिक्षा समितिको निर्णयअनुसार वैशाख १६ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालालाई मिलेर विद्यालय सञ्चालनमा सहकार्य गर्न अनुरोध गरिएको छ। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण केही समयदेखि सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएको भन्दै अब नियमित पठनपाठन गराउन अनुरोध गरिएको हो।
स्थानीय निकायहरूले यसरी सूचना प्रकाशित गरे पनि शिक्षकहरू विद्यालय फर्कने मुडमा भने छैनन्। प्रहरी सँग हिजो भएको मुठभेड पछि आज झनै धेरै सङ्ख्यामा शिक्षकहरू सडकमा निस्किएका थिए।