काठमाडौँ- आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरू सरकारले शान्तिपूर्ण आन्दोलन गर्दा नसुनेको भन्दै आक्रोशित भएपछि झडप भएको छ। शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फाल्न खोजे पछि रोक्नका लागि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो। निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेका शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्यो भने आन्दोलनकारी शिक्षकहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरे। त्यसपछि स्थित तनावग्रस्त बनेको हो।
महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाउँदै १५ भन्दा बढी शिक्षक घाइते भएको जनाएको छ।
त्यसपछि शिक्षकहरू झन् आक्रोशित भएका छन् ।
आन्दोलन उग्र बनेपछि घुसपैठ गरेको भन्दै आफ्नै साथीहरूलाई समेत शिक्षकहरूले नियन्त्रणमा लिएका छन् । घुसपैठ गरेको भन्दै शिक्षकहरूले आन्दोलन गर्दै आएका शिक्षकलाई नै नियन्त्रणमा लिएका हुन् । घाइते शिक्षकहरूको अस्पतालमा उपचार भइरहेको छ।
भोलि थप शिक्षक कर्मचारी काठमाडौँ आउने महासंघले जनाएको छ ।