काठमाडौँ- आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुने अडान दोहोर्याएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा विगत २१ दिनदेखि काठमाडौँमा जारी शैक्षिक आन्दोलनलाई थप प्रभावकारी बनाउँदै परीक्षा प्रक्रियालाई पूर्ण रूपमा बहिष्कार गर्न आग्रह गरिएको छ।
महासंघले परीक्षा सञ्चालनमा सहभागी हुन शिक्षकमाथि गरिएको दबाबप्रति आपत्ति जनाउँदै त्यसले आन्दोलनको भावना र उद्देश्यलाई कमजोर पार्ने प्रयास भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ।”
त्यसैगरी, महासंघले सबै परीक्षा केन्द्राध्यक्षहरूलाई पनि काठमाडौँमा सञ्चालित आन्दोलनमा उपस्थित भई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ। महासंघले शिक्षाको रूपान्तरण र अधिकार सुरक्षित गर्न थालेको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने बताएको छ।