काठमाडौँ- नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौँमा शिक्षक आन्दोलन चर्किरहेकै बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्।
प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।
मन्त्री बनेदेखि नै विद्यालय शिक्षा विधेयक आफ्नो प्राथमिकता भन्दै आएकी मन्त्री भट्टराई पछिल्लो समय घेराबन्दीमा परेकी थिइन् । शिक्षक महासंघ र सरकार बिच समस्या समाधानका लागि पटक पटक प्रयास भए पनि समाधान हुन सकेको थिएन। भट्टराईको राजीनामा बारे विस्तृत जानकारी आई नसकेको भए पनि उनले यस अघि नै शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने घोषणा गरेको हुँदा ऐन सम्बन्धित विषयकै कारण राजीनामा आएको आँकलन गरिएको छ। भट्टराईको सचिवालयले पनि राजीनामाको कारण बारे जानकारी भइ नसकेको मात्र एजुकेसनलाई बतायो।