Matra Education आइतबार, साउन १० २०८३

आजबाट विद्यालय भर्ना अभियान, शिक्षाको बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आजबाट विद्यालय भर्ना अभियान, शिक्षाको बजेट बढाउने र विधेयक पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख १ २०८२


काठमाडौँ- नयाँ शैक्षिक सत्र २०८२ को सुरुवात सँगै आजदेखि देशभर विद्यालय भर्ना अभियान सुरु गरिएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता’ भन्ने नारासहित सुरु भएको अभियानलाई सफल बनाउन नेपाल सरकारले सबै अभिभावक, शिक्षक, समुदाय र सरोकारवाला निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। अभियानको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै शिक्षा क्षेत्रलाई सशक्त बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गराउन र नियमित विद्यालय पठाउन सम्पूर्ण अभिभावकहरूलाई आह्वान गरेका छन्। उनले अझै करिब १० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्य प्रस्तुत गर्दै यो अवस्था लाजमर्दो भएको बताएका छन्। “अब कोही पनि बालबालिका विद्यालय बाहिर रहनु हुँदैन,” उनले लेखेका छन्, “यसका लागि हामी सबैले आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्छ।”

प्रधानमन्त्रीले शिक्षा क्षेत्रलाई समृद्धिको आधारको रूपमा प्रस्तुत गर्दै गुणस्तरीय, सीपयुक्त र रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने धारणा राखेका छन्। उनले हाल देशमा करिब २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै गरिबी निवारणको पहिलो र आधारभूत सर्त शिक्षामै रहेको उल्लेख गरेका छन्। “गरिबीलाई अन्त्य नगरी राष्ट्रिय लक्ष्यमा पुग्न सकिँदैन, शिक्षा नै गरिबी अन्त्य गर्ने मूल उपाय हो।”

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको हिस्सा बढाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन्। साथै उनले विद्यालय शिक्षा विधेयक २०८१ लाई आवश्यक छलफल र सहमतिसहित पारित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। यतिखेर शिक्षक तथा शिक्षा कर्मचारीहरू शिक्षा ऐन पारित गर्न माग गर्दै काठमाडौँमा आन्दोलनरत रहेका छन्।

प्रधानमन्त्रीले तीनै तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित लगानी साझेदारीको खाँचो रहेको औँल्याउँदै शैक्षिक पूर्वाधार, जनशक्ति र व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिसँग जोडेर आधुनिकीकरण गर्दै देशमै रोजगारी तथा स्वरोजगारी सिर्जना गर्नुपर्ने उनको धारणा छ।

शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्रीले सबै बालबालिकालाई नयाँ शैक्षिक सत्र २०८२ को लागि शुभकामना दिँदै विद्यालय भर्ना अभियानलाई सार्थक बनाउने दिशामा सबैले एकजुट भएर लाग्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड