काठमाडौँ- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेलले विदेश पढ्न गएका विद्यार्थीको रेमिट्यान्समा राम्रो योगदान रहेको बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बिहीबार आयोजना गरेको नीति बहस कार्यक्रम ‘एडुक्लेभ ३.०’ अन्तर्गत आयोजित एक प्यानल छलफलमा उनले यस्तो बताएका हुन्।
‘विद्यार्थी गतिशीलता कसरी एउटा सम्पत्ति हो ? भन्ने शीर्षकमा गरिएको उक्त छलफलमा पौडेलका अलावा शिक्षा मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटा, नेपाल तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डि राज लामिछाने, विकास नीति विज्ञ यमुना घले र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल सहभागी थिए। उक्त सत्रलाई प्रसिद्ध सञ्चारकर्मी जगदीश खरेलले सहजीकरण गरेका थिए।
प्रवक्ता पौडेलले विदेश पढ्न गएका विद्यार्थी र त्यो गतिशीलता नेपाली समाजका लागि सम्पत्ति बन्न सक्छ भन्नेमा कुनै शंका नरहेको बताए। उनले विदेश अध्ययनमा धेरै पैसा गयो भनेर चिन्ता गर्ने भन्दा पनि त्यसबाट देशले अधिकतम लाभ कसरी लिनसक्छ भन्ने सोच राख्नुपर्नेमा जोड दिए। उनले भने, “ठ्याक्कै यति भन्ने तथ्यांक नभए पनि देशको अर्थतन्त्रमा विदेश पढ्न गएका विद्यार्थीको राम्रो योगदान छ। राष्ट्र बैंकले कहिले पनि विद्यार्थी विदेश गएका कारण अर्थतन्त्रमा असर पर्यो भनेको छैन। बरु हामीले गुनासो गर्नुको साटो अब हाम्रो व्यापार घाटा कम गर्नेतिर ध्यान दिनुपर्छ।” विदेश पढ्न गएकाहरूले ज्ञान, सिप सँगै आर्थिक स्तरमा पनि राम्रो सुधार गर्ने गरेको भन्दै उनले अगाडी थपे, “मैँले आजसम्म विदेश पढ्न गएको विद्यार्थीले यता बाट पठाएको पैसा तिर्न सकेन भनेको सुनेको छैन बरु कामदारमा गएकोले तिर्न सकेन भनेको सुनिएको छ। त्यसैले अब हामीले पैसा लागे भन्ने होइन त्यहाँ भएको लगानीलाई नेपालमा फर्काउने तिर ध्यान दिनुपर्छ। त्यसका लागि नेपाल नै फर्किनुपर्छ भन्ने छैन। आजको भर्चुअल दुनियाँमा उतै बाट पनि लगानी गर्न सकिन्छ। उदाहरणका लागि आइटी कम्पनी खोलेर उनीहरूलाई नेपालमा लगानी गर्न लगाउने हो भने त्यस बाट सिंगो देशले लाभ लिन सक्छ।”
सोही छलफलमा तथ्यांक कार्यालयका प्रवक्ता लामिछानेले अहिले विदेश जाने नेपालीहरू मध्ये १३% विद्यार्थी भिसामा जाने गरेको र बाकी कामका लागि जाने गरेको बताए । उनले विद्यार्थीहरू नेपालको शिक्षा कमजोर भएर बिदेसिएका नभई शिक्षाका नाममा रोजगारमा जाने गरेको उल्लेख गरे। रेमिटेन्सका रूपमा नेपाल भित्रिरहेको पैसा पनि उत्पादनमूलक क्षेत्रमा भन्दा उपभोगमा बढी खर्च भइरहेको भन्दै उनले विदेश पढ्न जानेहरूको गतिशीलतालाई सम्पत्ति मान्न सकिने भए पनि त्यसको सही सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए। शिक्षा र स्वास्थ्यमा राज्यले लगानी पर्याप्त लगानी नगरेका कारणले पनि समस्या भएको भन्दै उनले ती क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई राखे।
विकास नीति विज्ञ घलेले हाम्रो शिक्षा कमजोर नै हो भन्न नसकिने भए पनि आजको प्रतिस्पर्धात्मक बजारमा अन्तर्राष्ट्रिय डिग्री र अनुभवको मान्यता छुट्टै रहेको बताइन्। विदेशमा पाठ्यक्रम मात्रै पढाउने नभई आवश्यक सीप पनि दिइने भनाई राखेकी उनले आफूले नेदरल्याण्ड पढ्दा फ्रान्सको कृषि फार्ममा गएर प्रयोगात्मक गरेको अनुभव सुनाइन्। तर नेपालमा अहिले कृषि पढाउने ठाउँमा माटो नछोई पास गरिने गरेको दुखद यथार्थ हाम्रो अघि रहेको उनको भनाई थियो। हाम्रो सामाजिक मूल्य मान्यता आदिले पनि विदेश जान बाध्य पार्ने गरेको भन्दै उनले विदेश बाट फर्केकाहरूलाई यहाँ उपयुक्त वातावरण दिन सक्नुपर्नेमा जोड दिइन्।
शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले विदेशी विश्वविद्यालयमा पढ्न जानुलाई सिंगो राष्ट्रले महत्त्वपूर्ण भावनाका रूपमा लिएर जोगाउनु पर्ने बताए। यहाँ पढेर गएकाले विदेशमा अघिल्लो तहमा भर्ना पाएकै छन् भन्नुको मतलब हाम्रो शिक्षाको गुणस्तर राम्रै रहेछ भनेर भन्न सकिने उनले बताए । १० वर्ष अघिसम्म विदेश जानेको सङ्ख्या अत्यन्त कम रहेको भए पनि अहिले त्यो सङ्ख्या अत्यधिक भएको उनले उल्लेख गरे । नागरिकको समृद्धि राज्यको पनि समृद्धि हुने र नागरिकको चाहनाको परिपूर्ति सरकारका लागि पुँजी मान्नुपर्ने भनाई उनले राखे ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष बरालले आजको दिनमा पनि बिदेसिएका विद्यार्थीको सही तथ्यांक राज्यको कुनै निकाय सँग नहुनु लाजमर्दो अवस्था भएको बताए। आफूले १९ वर्ष अघि नै विदेशी विद्यार्थीलाई नेपाल ल्याएर पढाउन सकिन्छ भनेको तर राज्यले त्यस किसिमको वातावरण नबनाएको गुनासो उनले गरे। नेपाललाई शैक्षिक हब बनाउन पर्यटन, कृषि, स्वास्थ्य लगायतका विषयलाई प्रोत्साहन गर्नु पर्ने र परीक्षा नतिजा लगायतका समस्या सुधार्ने, बसोबास र भिसाको उपयुक्त व्यवस्था गर्नुपर्ने उनले बताए। राज्यले विदेश अध्ययन गरेका विद्यार्थी ज्ञान, सिप र क्षमता चिनेर त्यसलाई सदुपयोग गर्नुपर्ने उनले बताए।