काठमाडौँ- विगत केही दिन देखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । विद्यालय शिक्षा विधेयक अविलम्ब जारी हुनुपर्ने माग सहित आन्दोलनमा रहेको महासंघले थप दबाब दिनका लागि हड्तालको घोषणा गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा देशभरका सबै शिक्षक कर्मचारीलाई अनिवार्य आन्दोलनमा भाग लिन अनुरोध गरिएको छ। आन्दोलन अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासंघले भनेको छ।
सरकारले पटक पटक वार्ताका लागि आव्हान गरेको भए पनि यसपटक कुनै सम्झौता गर्नु नपर्ने भन्दै शिक्षकहरू वार्तामा गएका छैनन्। सरकारले विद्यालय शिक्षा विधेयक जारी गरिदिए आफूहरू सडक बाटै फर्किने उनीहरूको अडान छ।
