Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स कलेजमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

सेन्ट लरेन्स कलेजमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र २० २०८१


काठमाडौँ- सेन्ट लरेन्स कलेज चुच्चेपाटी चाबहिलमा मंगलबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाडौँ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा आयोजित शिविरको संयोजन मैजुकुमारी सामुदायिक सेवा समाज मैजुबहालले गरेको थियो।

लरेन्स फ्रन्टयार्स क्लब, लरेन्स सोसल वर्क क्लब, लरेन्स आइटी क्लब तथा लरेन्स सहकारीको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरमा करिब १,३०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, दन्त रोग, आँखा रोग, बाल रोग, स्त्री तथा प्रजनन रोग, नाक-कान-घाँटी उपचारका साथै इसिजी, अल्ट्रासाउन्ड तथा प्रयोगशाला परीक्षण (प्याथोलोजी ल्याब) सेवा प्रदान गरिएको थियो। साथै भिडियो एक्स-रे, ब्लड सुगर, युरिक एसिड, युरिया तथा पिसाब परीक्षण समेत गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनका अनुसार विद्यार्थी क्लबहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर आयोजना गरिएको हो। “स्वस्थ जीवनका लागि स्वास्थ्य सेवामा पहुँच आवश्यक छ। यो शिविरले स्थानीय बासिन्दा, विद्यार्थी तथा कलेजका शिक्षक-कर्मचारीलाई स्वास्थ्य लाभ पुर्‍याएको छ,” उनले भने।

शिविरलाई सफल बनाउन विभिन्न विद्यार्थी क्लबहरूले व्यवस्थापन तथा सहजीकरण गरेका थिए। सेन्ट लरेन्स कलेजको सोसल वर्क क्लबका अध्यक्ष सोनीका थापाका अनुसार कलेजमा हरेक वर्ष यस्ता सामाजिक कार्यक्रम आयोजना गरिने गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड