काठमाडौँ- नेपाल शिक्षक महासंघले आज (चैत २० गते) देखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएको छ। देशभरका करिब एक लाख शिक्षक माइतीघर ल्याएर आन्दोलन गर्न लागिएको हो। विद्यालय शिक्षा विधेयक अविलम्ब जारी गर्नुपर्ने माग सहित महासंघ आन्दोलनमा उत्रिन लागेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार महासंघ माघ २० गतेबाट आन्दोलनमा छ। यसक्रममा पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न भएका छन्। पहिलो चरण अन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ काठमाडौँमा वृहत् सडक आन्दोलन सभा सम्पन्न गरिएको थियो।
‘दोस्रो चरण अन्तर्गत २०८१ फागुन २७ गतेबाट २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना गरियो भने चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न भयो, दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा २०८१ चैत्र २० गतेबाट ‘काठमाडौँ जाऔँ अभियान’ अघि बढाइएको छ, यस अन्तर्गत देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने भएको छ,’ उनले भने।
उनले स्थायी, राहत, साबिक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने जानकारी दिए।
‘महासंघ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो,’उनले भने,‘यो उद्देश्य प्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ, यो आन्दोलन शिक्षक कर्मचारीको पेसागत माग मुद्दा सम्बोधनसँग मात्र जोडिएको छैन, यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको छ।’
विगतमा सहमति र सम्झौताको नाममा सरकारले शिक्षकलाई पटक पटक धोका दिएको हुँदा यसपटक कुनै सम्झौता नगर्ने घोषणा महासंघले गरेको छ। विद्यालय शिक्षा विधेयक लिएर मात्रै सडक बाट फर्किने घोषणा अध्यक्ष सुवेदीले गरेका छन्।