काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षका लागि १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। सोमबार काठमाडौँको तीनकुने स्थित सिद्धार्थ कटेजमा आयोजित पत्रकार सम्मेलनमा संस्थाको गत फागुनमा सम्पन्न १६ औँ राष्ट्रिय महाधिवेशन बाट निर्वाचित कार्यसमितिले कार्ययोजना सार्वजनिक गरेको हो। नवनिर्वाचित कार्यसमितिले शिक्षा प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र समयानुकूल बनाउन विभिन्न रणनीतिक कार्यक्रम अघि सारेको छ। संस्थाले निजी विद्यालयहरूमा नवीनतम शिक्षण विधिहरू लागू गर्ने योजना अघि सारेको छ। डिजिटल शिक्षाको प्रवर्द्धन, स्मार्ट कक्षा सञ्चालन र पाठ्यक्रम सुधार कार्ययोजनाको प्रमुख अंश रहेको छ।
प्याब्सनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गर्ने, आधुनिक प्रविधिमैत्री शिक्षा पद्धति, समावेशी शिक्षण शैली र मनोवैज्ञानिक परामर्शसम्बन्धी तालिमलाई संस्थाले आगामी तिन वर्ष प्राथमिकता दिनेछ। विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू लागू गरिनेछ। त्यस्तै सीपमूलक शिक्षाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न निजी विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गरिनेछ।
सदस्य विद्यालयहरूबिच समान गुणस्तर कायम गर्न एकरूप शिक्षण पद्धति, शुल्क संरचना र व्यवस्थापन प्रणाली लागू गरिनेछ। शिक्षा सम्बन्धी सरकारी नीतिहरूसँग समायोजन गर्दै निजी विद्यालयहरूका मुद्दा उठान गर्न नीति वकालत र समन्वय बलियो बनाइनेछ। शिक्षालयहरूको प्रशासनिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तथा पारदर्शिता कायम गर्ने लक्ष्य राखिएको छ। विद्यालय र अभिभावकहरूबिच प्रभावकारी समन्वय बढाउन अभिभावक शिक्षा कार्यक्रम र अन्तरक्रियात्मक बैठकहरू आयोजना गरिनेछ।
असहाय तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिको पहुँच वृद्धि गरिनेछ। समावेशी शिक्षाको नीति बलियो पार्ने लक्ष्य राखिएको छ। प्राकृतिक विपत्ति तथा आकस्मिक परिस्थितिमा विद्यालय र विद्यार्थीहरूलाई सहयोग पुर्याउन प्याब्सनले विशेष राहत कोष स्थापना गर्नेछ। विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षासँग प्रतिस्पर्धी बनाउन विदेशी विश्वविद्यालय तथा संस्थाहरूसँग सहकार्य गरी अवसरहरू उपलब्ध गराइनेछ। विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्दै खेलकुद तथा सांस्कृतिक गतिविधिहरूलाई प्राथमिकता दिइनेछ। विद्यालयमा कृत्रिम बौद्धिकता, रोबोटिक्स र अन्य आधुनिक प्रविधिहरू समावेश गर्दै शिक्षण-सिकाई प्रक्रियालाई आधुनिक बनाइनेछ।
प्याब्सनले सरकार, सरोकारवाला निकायहरू, शिक्षक र अभिभावकहरूसँग सहकार्य गर्दै यी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा क्षेत्रमा स्थायित्व, गुणस्तर र समान पहुँच सुनिश्चित गर्न नवनिर्वाचित कार्यसमिति सक्रिय रूपमा अघि बढ्ने बताइएको छ।
पत्रकार सम्मेलनमा प्याब्सनका नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार डिके ढुंगानाले पत्रकारहरूका प्रश्नको जवाफ दिँदै अन्तरक्रिया गरेका थिए। उक्त पत्रकार सम्मेलनमा संस्थाका सह-अध्यक्ष गोपाल प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापा, महासचिव आरबी कटवाल लगायत पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
