काठमाडौँ- राष्ट्रिय पाठ्यक्रम परिषद्को बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं परिषद्का अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विभिन्न तहका पाठ्यक्रमहरू स्वीकृत, परिमार्जन तथा नयाँ विषय समावेश गर्ने निर्णय गरेको छ।
बैठकले माध्यमिक तह (कक्षा ९-१०) को ऐच्छिक भूगोल विषयको पाठ्यक्रमलाई प्राप्त सुझावहरू समेटेर स्वीकृतिका लागि सिफारिस गरेको छ। साथै, मातृभाषा सम्बन्धी अध्ययनलाई प्रवर्द्धन गर्ने उद्देश्यले माध्यमिक तहको लिम्बू भाषा (कक्षा ९-१०), आधारभूत तहको बान्तवा राई भाषा (कक्षा ६-८), डोटेली भाषा (कक्षा १-३) र वायुङ राई भाषा (कक्षा १-३) को पाठ्यक्रम पनि स्वीकृत गर्न सिफारिस गरेको छ।
यसैगरी बैठकले गोन्पा शिक्षाको अनिवार्य तथा ऐच्छिक विषय संरचनामा परिवर्तन गर्दै नयाँ प्रणाली स्वीकृत गरेको छ। प्रस्तावित संरचना अनुसार अनिवार्य विषयहरूमा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित रहनेछन्। ऐच्छिक विषयहरू तीन समूहमा विभाजन गरिएका छन् जसबाट विद्यार्थीहरूले दुई विषय छनोट गर्न सक्नेछन्। इच्छुक विद्यार्थीहरूका लागि चौथो समूहबाट थप एउटा विषय लिने सुविधा पनि प्रदान गरिएको छ।
सामाजिक अध्ययन विषयमा एकरूपता ल्याउने निर्णयअनुसार अब कक्षा ४ देखि १२ सम्म ‘सामाजिक अध्ययन’ नाम नै कायम गरिनेछ। संस्कृत तथा गुरुकुल शिक्षालाई समयानुकूल बनाउने लक्ष्यसहित तन्त्रशास्त्र विषयलाई कक्षा ९-१० को ऐच्छिक द्वितीय समूह तथा कक्षा ११-१२ को ऐच्छिक पहिलो समूहमा समावेश गर्ने निर्णय पनि बैठकले गरेको छ।