Matra Education आइतबार, साउन १० २०८३

एसइईमा आज अनिवार्य नेपाली विषयको परीक्षा हुँदै

एसइईमा आज अनिवार्य नेपाली विषयको परीक्षा हुँदै

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र ८ २०८१


काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज अनिवार्य नेपाली विषयको परीक्षा भएको छ । हिजो देखि सुरु भएको परीक्षा बिहान आठ बजेदेखि ११ बजेसम्म हुँदै आएको छ।
६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चैत २९ गतेसम्म चल्ने यस वर्षको एसइई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरू एसइईमा सहभागी छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरूले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरू एसइईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
एसइई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रूपमा परीक्षा भएको छ । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार ९ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड