काठमाडौँ- सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस – २०८१’ भव्य रूपमा सम्पन्न भएको छ। लरेन्स सोसल वर्क क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘विश्व सामाजिक दीर्घकालीन कल्याणका लागि अन्तरपुस्तीय एकता’ भन्ने नाराका साथ सम्पन्न भएको हो।
कार्यक्रममा कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्व तथा शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङको प्रमुख आतिथ्य रहेको थियो। विशेष अतिथिहरूमा जापानबाट ‘लाइफ स्टेज एनपीओ’ का अध्यक्ष हिरोसि कावाशिमा, सामाजिक कार्यकर्ता संघकी अध्यक्ष सुकृता राई, ज्येष्ठ नागरिक चौतारीका संस्थापक अध्यक्ष डा. बालकृष्ण थापा, त्रिभुवन विश्वविद्यालय सामाजिक कार्य विभागका प्रमुख अभियान के.सी, एफएओका राष्ट्रिय युवा संलग्नता विशेषज्ञ सबिन लामिछाने, मैजुबहाल सामुदायिक सेवा समाजका अध्यक्ष हरिभक्त महर्जन, सचिव समिर जोशी तथा जनप्रेमी बहुमुखी क्याम्पसका संयोजक रवि श्रेष्ठ आदि रहेका थिए ।
कार्यक्रमको प्रारम्भ स्वागत नृत्यबाट गरिएको थियो। त्यस्तै कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमका अतिथि वक्ताहरूले सामाजिक कार्यको महत्त्व र विद्यार्थीहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरहरू बारे विचार प्रस्तुत गरे। विशेष गरी लाइफ स्टेज एनपीओ’ का अध्यक्ष कावाशिमाले सेन्ट लरेन्स कलेजसँगको सहकार्य अन्तर्गत बिएसडब्लु उत्तीर्ण पाँच जना विद्यार्थीलाई जापान लैजाने प्रक्रिया अघि बढिरहेको जानकारी गराए। त्यस्तै,एफएओका सबिन लामिछानेले सामाजिक कार्य क्षेत्रमा भविष्यमा थप अवसरहरू सिर्जना भइरहेकाले विद्यार्थीहरू आत्मविश्वासका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रम व्यवस्थापनमा संयोजक राजेश मान सिंहको नेतृत्व रहेको थियो भने समन्वय टोलीका सुवास बोहराले प्रभावकारी संयोजनको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमको प्रमुख आकर्षण सामाजिक कार्यमा युवावस्थाको संलग्नता शीर्षकमा आयोजित प्यानल डिस्कसन रह्यो, जसमा बिएसएसडब्लु तेस्रो वर्षकी छात्रा सबिना गौतमले सहजकर्ताको भूमिका निर्वाह गरिन्। साथै कार्यक्रमलाई थप आकर्षक बनाउन सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएका थिए।
कार्यक्रमको समापनमा कलेज अध्यक्ष दंगाल र क्याम्पस प्रमुख महर्जनले प्रमुख अतिथि तथा विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान गरे। अध्यक्ष दंगालले विद्यार्थीहरूको अध्ययन, नेतृत्व क्षमता र प्रस्तुतीकरणमा देखिएको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै कार्यक्रम सभ्य, भव्य र सफल रूपमा सम्पन्न भएको घोषणा गरे।
