काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नवनिर्वाचित कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधवार काठमाडौँमा सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा शपथ लिएका हुन्।
कार्यक्रममा बोल्दै संस्थाका नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा सदस्य विद्यालयहरूलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने बनाउन थप भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालका निजी विद्यालयहरूले प्रदान गरिरहेको शिक्षाको अन्तर्राष्ट्रिय स्तरमा चर्चा भइरहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन शिक्षा क्षेत्रको विश्वव्यापीकरणलाई प्रवर्द्धन गर्ने बताए।
उनका अनुसार हालै सरकारले प्रस्तुत गरेको शिक्षा विधेयक प्याब्सनको पहिलो प्राथमिकता हो। उनले कम्पनी अन्तर्गत सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई निरन्तरता दिने र पुस्तान्तरणको व्यवस्था सुनिश्चित गर्न पहल गर्ने बताए।
“हाम्रो पहिलो प्राथमिकता शिक्षा विधेयक हो। २०५८ सालदेखि निजी विद्यालयहरू कम्पनीअन्तर्गत सञ्चालनमा छन् र यो संरचना निरन्तर कायम रहनुपर्छ। दोस्रो, हामी शिक्षा प्रणाली, पाठ्यक्रम सुधार र गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नेछौँ। तेस्रो, प्याब्सन अन्तर्गतका ५ हजार विद्यालयहरूलाई अझ व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थामा रूपान्तरण गर्दै विद्यार्थी, शिक्षक र अभिभावकका लागि सकारात्मक वातावरण सिर्जना गर्नेछौँ,” अध्यक्ष अधिकारीले भने।
उनले प्याब्सनको प्रभावकारी कार्यले संस्थाको गरिमा अझ बढेको दाबी पनि गरे।
नयाँ कार्यसमितिमा गोपाल आचार्य सहअध्यक्ष, दिपिका रिमाल वरिष्ठ उपाध्यक्ष, आशिष श्रेष्ठ र थकिन कुमार गुरुङ उपाध्यक्ष, आर.बी. कटुवाल महासचिव, गणेशबाबु पोखरेल कोषाध्यक्ष, तथा प्रह्लाद खनाल र कर्मवाङ्गेल लामा केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन्।