Matra Education आइतबार, साउन १० २०८३

नेपाल स्काउटका समस्या समाधान गर्न शुद्धीकरण अभियानको माग , अन्यथा चरणबद्ध आन्दोलन गर्ने

नेपाल स्काउटका समस्या समाधान गर्न शुद्धीकरण अभियानको माग , अन्यथा चरणबद्ध आन्दोलन गर्ने

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन २६ २०८१


काठमाडौँ- नेपाल स्काउटभित्र विद्यमान विकृति, अनियमितता र अपारदर्शितालाई हटाएर संस्थालाई शुद्धीकरण गर्ने उद्देश्यले गठित ‘नेपाल स्काउट शुद्धीकरण अभियान’ ले संस्था भित्रका समस्या तत्काल समाधान गर्न माग गरेको छ। अभियानका संयोजक देवदूत अधिकारीले सोमबार पत्रकार सम्मेलन गर्दै संगठनलाई सुधार गर्न चार सूत्रीय माग राख्दै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन्।

पत्रकार सम्मेलनमा संयोजक अधिकारीले नेपाल स्काउटभित्रका विकृतिहरूलाई अन्त्य गर्दै यस संस्थाको पवित्रतालाई कायम राख्नका लागि यो अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार नेपाल स्काउटभित्रको अनियमितता, अपारदर्शिता र नेतृत्वको कमजोरीका कारण संस्थाको मूल उद्देश्य प्रभावित भएको छ। स्काउटप्रति आस्था राख्ने युवा वर्ग, स्काउट प्रशिक्षक तथा शुभेच्छुकहरूको सहकार्यमा यो अभियान सुरु गरिएको अधिकारीले जानकारी दिए।

अभियानका प्रतिनिधिहरूले फागुन ६ गते प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्रीलाई प्रत्यक्ष भेट गर्दै ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापन पत्रमार्फत चार वटा प्रमुख मागहरू अघि सार्दै सात दिनभित्र तिनलाई पूरा गर्न अल्टिमेटम समेत दिइएको थियो। उक्त ज्ञापन पत्रको जानकारी प्रधानमन्त्री तथा नेपाल स्काउटका संरक्षक समक्ष समेत पुर्‍याइएको थियो। यद्यपि, माग सम्बोधन गर्नेतर्फ सरकार उदासीन रहेको भन्दै शुद्धीकरण अभियानले थप दबाबमूलक आन्दोलन गर्न बाध्य भएको जनाएको छ।

पत्रकार सम्मेलनमा संयोजक अधिकारीले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईविरुद्ध दर्ता भएका गम्भीर आरोपहरूको छानबिन नभएको र संस्थाको पारदर्शिता कायम राख्ने कुनै ठोस पहल नभएकाले विरोध कार्यक्रम घोषणा गरिएको बताए। उनका अनुसार हालै प्रमुख स्काउटको हस्ताक्षर मार्फत जारी गरिएको कर्मचारी प्रशासन नियमावली २०८१ मा केही प्रावधानहरू कर्मचारीको मनोबल गिराउने खालका छन्। विशेष गरी, प्रसूति बिदाजस्ता सुविधाहरूमा कटौती गरिएको भन्दै नियमावलीलाई राष्ट्रिय परिषद्मा व्यापक छलफल गरी पुनरावलोकन गर्नुपर्ने माग अभियानले अघि सारेको छ।

नेपाल स्काउटका राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईमाथि विभिन्न अनियमिततासम्बन्धी १० बुँदे उजुरी परे पनि त्यसको कुनै छानबिन प्रक्रिया अगाडि नबढाइएको अभियानको आरोप छ। भट्टराईमाथि कार्यक्षेत्रमा दुर्व्यवहार र यौन दुर्व्यवहारका गम्भीर आरोप समेत लागेका छन्। यी सबै विषयको निष्पक्ष छानबिन हुनुपर्ने र छानबिन प्रक्रिया नसकिएसम्म भट्टराईलाई निलम्बन गर्नुपर्ने माग अभियानले राखेको छ। छानबिन समितिको प्रतिवेदनका आधारमा मात्र भट्टराई माथि थप कारबाही प्रक्रिया अघि बढाइनुपर्ने अभियानको भनाइ छ।

मागहरू सम्बोधन गर्न सरकार गम्भीर नदेखिए अभियानले चरणबद्ध आन्दोलन गर्ने समेत घोषणा गरेको छ। फागुन २७ गतेदेखि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय अगाडि मौन धर्ना कार्यक्रम आयोजना गरिने छ। त्यसपछि चैत १ गतेदेखि रिले अनशनसहितको धर्ना सुरु गरिने योजना छ। संयोजक अधिकारीले आन्दोलनका कार्यक्रमहरू शान्तिपूर्ण हुने बताए पनि यदि कसैले विरोध कार्यक्रम बिथोल्ने वा बल प्रयोग गर्ने प्रयास गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल स्काउट शुद्धीकरण अभियानको नहुने चेतावनी दिएका छन्।

नेपाल स्काउटका गतिविधिहरू पछिल्लो समय नकारात्मक रूपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउने गरेको भन्दै अभियानले त्यसको मुख्य कारण संगठन भित्रको अपारदर्शिता र नेतृत्वको कमजोरी रहेको बताएको छ। प्रमुख स्काउटले नकारात्मकतालाई समाधान गर्ने प्रयास गर्नुपर्नेमा उल्टै त्यसलाई पक्षपोषण गरिरहेको आरोप अभियानले लगाएको छ। अभियानका प्रतिनिधिहरूले आफूहरूको आन्दोलन संस्थाको उन्नति तथा शुद्धीकरणका लागि भएको र कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पारेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड